कचनकवल| ५० प्रतिशत अनुदानमा माछाको भुरा वितरणमा चलखेल भएको भन्दै कचनकवल गाउँपालिकाका स्थानीहरू आक्रोशित भएका छन् ।
गाउँपालिकाको सूचनामा कार्प जातको माछाको भुरा वितरण गरिने भनिएपनि गाउँपालिकाले बजारमा नबिक्ने बिकट जातको माछा वितरण गरेको उनीहरूको आरोप छ।
स्थानीय कर्ण राजवंशीले फेसबुकमा स्टाटस लेख्दै माछा वितरणमा चलखेल भएको हुनसक्ने आरोप लगाएका छन् ।
उनले लेखेका छन्:
“हेल्लो कचन कवल सरकार
माछाको भुरामा पनि भ्रस्टाचार
कार्प जातिको भुरा भनेर बजारमा नबिक्ने बिगेट माछाको भुरा दिने
५०% अनुदान भनेर दिने अनि १००० वटा भुरा भनेर ५०० वटा भुरा भिडाएर “डारीबाजी” गर्ने ? भ्रस्टचारी लाई तुरुन्त कारबाही गर !”
यता कचनकवल गाउँपालिकाका पशु शाखा प्रमुख मछिन्द्र यादवले भने आरोप तथ्यहीन भएको बताएका छन् ।
उनले विज्ञको सल्लाह बमोजिम नै अलग अलग जातको माछा वितरण गरिएको बताए।
उनका अनुसार माछाको सङ्ख्यामा विकास र वृद्धिका लागी नै फरक जातीका माछा वितरण गरिएका बताए।
“एकै जातको माछा मात्रै पोखरीमा राखियो भने त वृद्धि नै हुँदैन नि, विज्ञ कै सल्लाहमा हामिले फरक माछाहरू वितरण गरेका हौं” उनले भने ।
साथै कृषि शाखा प्रमुख यादवले कतिपय कृषकलाई माछा कम भएकोमा उनीहरूलाई थप माछा उपलब्ध गराउने बताए।
वितरणका क्रममा तौलिएको तर माछाको साइजले गर्दा संख्या तलमाथि भएको हुनसक्ने भन्दै उनले नपुगेको भए फेरी उपलब्ध गराउने जानकारी दिए।