- ब्रिसबेन (अष्ट्रेलिया)/इन्द्र प्रसाद ओली
पूर्वीय दर्शन र सनातन संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अष्ट्रेलियामा पहिलो वैदिक विश्वविद्यालय स्थापनाको तयारी भइरहेको छ। सनातन धर्म अष्ट्रेलिया इन्क नामक संस्थाले वैदिक गुरुकुल विश्वविद्यालय अष्ट्रेलिया स्थापनाको कार्ययोजना अघि बढाएको जनाएको छ।
संस्थाका अध्यक्ष राजन अधिकारीका अनुसार विश्वविद्यालय स्थापनाका लागि क्वीन्सल्याण्ड राज्यको टुऊम्वा क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणको काम सुरु गरिएको छ। यही सन् २०२५ फेब्रुअरी १८ का दिन संस्थाले श्री धर्मेश्वर महादेव नामक नर्मदेश्वर शिवलिङ्गको प्रतिष्ठा गरी शिव मन्दिर निर्माणको कार्य प्रारम्भ गरेको हो। अधिकारीका नेतृत्वमा सात सदस्यीय जागरूक समूहले वैदिक शिक्षाको केन्द्रका रूपमा विश्वविद्यालय स्थापना गर्ने अठोट लिएको छ।
अधिकारीले भने, “अष्ट्रेलियामा वैदिक परम्परा र संस्कृत शिक्षाको निरन्तरता कायम गर्न ‘वैदिक गुरुकुल विश्वविद्यालय’ स्थापना हाम्रो दीर्घकालीन सपना हो। यसको माध्यमबाट नैतिकता, अनुशासन, करुणा र आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्न सकिनेछ।”
सन् २०२३ मा क्वीन्सल्याण्ड राज्यको ब्रिसबेनमा दर्ता भएको सनातन धर्म अष्ट्रेलिया इन्क प्रारम्भमा ब्रिसबेनमै सञ्चालनमा रहेको थियो। सन् २०२५ को सुरुवातमा संस्थाले आफ्नो कार्यक्षेत्र टुऊम्वातर्फ सार्दै धर्म, संस्कृति र अध्यात्मसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले हालै वैदिक विश्वविद्यालय स्थापनासम्बन्धी सार्वजनिक कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ। वैदिक शिक्षामा आस्था राख्ने समुदाय, धर्मावलम्बी र विभिन्न संघसंस्थाहरूले उक्त पहलप्रति स्वागत र समर्थन जनाएका छन्।
पूर्वीय दर्शन, संस्कृत भाषा र सनातन संस्कृतिको महत्व विश्वभर बढ्दै गएको सन्दर्भमा अष्ट्रेलियामा हुने यो वैदिक विश्वविद्यालयको पहललाई नेपाली तथा भारतीय मूलका समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्।




















One Response
हार्दिक आभार सहित धन्यवाद