आज विक्रम संवत् २०८१ साल वैशाख १ गते शनिवार अर्थात् नयाँ वर्षको पहिलो दिन नेपालसहित विश्व भरि वसोवास गर्ने नेपालीले एक-आपसमा शुभकामना आदान-प्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग प्रारम्भ गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । आज विस्का जात्रासमेत मनाइँदै छ ।
सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारीहरुको भनाइ छ ।
‘विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ’, समितिले भनेको छ ।
सूर्य मेष राशिमा प्रवेश गर्न प्रारम्भ भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष प्रारम्भ हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाइ छ ।
सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलि यूग प्रारम्भ भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् प्रारम्भ भएको हो ।
हरेक व्यक्तिले आज अघिल्लो वर्ष गरेका कामको सफलता रअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
आज बिहानै नुहाउने, घर-कोठा–आँगन सफा गर्ने, मीठो-मीठो खाने, साथी-सङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
चन्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै प्रारम्भ हुने नयाँ संवत्सर भने चैत २७ गतेदेखि नै प्रारम्भ भइसकेको छ ।
वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको नल ५०औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्ला-बेग्लै फल हुने विद्वानहरूको भनाइ छ ।



















