झापा– इस्लाम धर्मावलम्बीहरूको लागि पवित्र मानिने रमजान महिना आजदेखि सुरु भएको छ। एक महिनासम्म चल्ने यस विशेष समयमा मुसलमान समुदाय दिनभर निराहार (रोजा) बस्ने परम्परा अनुसार आजदेखि उपवास सुरु गरेका छन्।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश, मध्यपूर्व लगायतका इस्लामी देशहरूमा चन्द्रमा देखिएपछि रमजान महिनाको घोषणा गरिएको हो। नेपालमा हिजरी संवत् १४४६ अनुसार आज पहिलो रोजा परेको छ।
यस महिनामा मुसलमानहरूले बिहान सूर्योदय अघि ‘सहूर’ खान्छन् र बेलुका सूर्यास्तपछि ‘इफ्तार’ गरी रोजा खोल्छन्। यो महिनामा पाँचै वक्तको नमाज नियमित रूपमा पढ्नुका साथै रातको विशेष ‘तरावीह’ नमाज पनि पढिन्छ।
मुस्लिम धर्मगुरुहरूको अनुसार, रमजान आत्मसंयम, आत्मशुद्धि र आध्यात्मिक जागरणको समय हो। यो महिनामा गरिब, असहाय र दुःखीहरूको सेवा गर्नु, जकात (दान) दिनु, अल्लाहको इबादत (उपासना) गर्नु विशेष महत्त्वको मानिन्छ।
रमजान महिना २९ वा ३० दिनसम्म चल्ने गर्छ, जुन चन्द्रमाको दृश्यतामा निर्भर हुन्छ। महिनाको अन्त्यमा मुसलमान समुदायले ‘ईद उल-फित्र’ पर्व मनाउनेछन्। ईदको दिन विशेष नमाज, आपसी मेलमिलाप र दान-धर्मका कार्यक्रम गरिन्छ।
नेपालका इस्लाम धर्मावलम्बीहरूले रमजानको पहिलो दिन शुभकामना आदान-प्रदान गर्दै पवित्र महिनाको स्वागत गरेका छन्।