गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि-ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।