पालिका संदेश/ आज तिहारको चौथो दिन।
देशभर परम्परा अनुसार गाई, गोवर्धन पर्वत र गोरु पूजा गरिँदैछ । आज आ- आफ्नो आँगनमा लिपपोत गरी गोवर्धन पर्वतको प्रतीकका रुपमा गाईको गोवरले पर्वतको आकृति बनाई गोवर्धन पूजा गरिन्छ ।
द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्धन पर्वतको पूजा गर्ने चलन चलेको धार्मिक विश्वास छ ।
यस्तै आजै कृषि कार्यसँग विशेष रुपमा गाँसिएका गाई, बाच्छा तथा माहादेवको वाहनका रुपमा मानिएको गोरुको पुजा गरिन्छ । गोरुलाई पुजा गरि रोटि, बाबर, पिठो आदि खानेकुरा खुवाउने गरिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।
नेपाल संवत् ११४३
नेवार समुदायले राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण गर्दै नेपाल संवत ११४३ लाई स्वागत गरेका छन् ।
विशेषगरी नेवार समुदायले नेपाल संवत् धुमधामका साथ मनाउने गर्दछन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको विश्वास गरिन्छ ।
विश्वभरी नेपाल समुदायले नेपाल संवत् मनाउने गरेका छन् । नेवार समूदायका अगुवाहरुले नेपाल संवतलाई राष्ट्रिय संवतको रुपमा मान्यता दिएर पनि सरकारले आधिकारिक रुपमा प्रचलनमा नल्याएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए।
विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेपनि आधिकारिक दस्तावेजहरुमा भने राष्ट्रिय संवत् भनेर उल्लेख गरेको पाइँदैन् ।
म्ह: पुजा
आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।


















