काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि कफीको न्यूनतम मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसको अवसर पारेर फ्रेस चेरी, पार्चमेन्ट र ड्राइ चेरी गरी तीन प्रकारका कफीको मूल्य तोकेको हो । जसअनुसार फ्रेस चेरी ‘ए’ ग्रेडको प्रतिकेजी एक सय पाँच रुपैयाँ र ‘बी’ ग्रेडको ९५ रुपैयाँ तोकिएको छ ।
आठ सय मिटरभन्दा माथि प्रांगारिक पद्धति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरी ‘ए’ ग्रेड अन्तर्गत पर्दछन् । त्यस्तै, पार्चमेन्ट चेरी ‘ए’ ग्रेडको प्रतिकेजी पाँच सय ३५ रुपैयाँ र ‘बी’ ग्रेडको चार सय ८२ रुपैयाँ तोकिएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादित, पानीमा राख्दा डुब्ने र ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ‘ए’ ग्रेड मानिन्छ । ड्राइ चेरी कफी ‘ए’ ग्रेडको प्रतिकेजी दुर्ई सय ८० र ‘बी’ ग्रेडको दुर्ई सय ४८ रुपैयाँ तोकिएको छ । बोर्डले हरेक वर्ष मंसिर १ गते विभिन्न कार्यक्रम गरी कफी दिवस मनाउँदै आएको छ ।
बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालमा छ सय ४२ मेट्रिकटन ग्रिन बिन कफी उत्पादन भएको थियो भने १४ करोड ४१ लाख बराबरको दुई सय ३० मेट्रिकटन कफी नेपालमा आयात भएको थियो । त्यस्तै, सो अवधिमा नेपालबाट ११ करोड ४३ लाख रुपैयाँ बराबरको ६४ मेट्रिकटन कफी निर्यात भएको थियो । नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रभन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । देशभित्रै पनि कफीको माग बढ्दै गइरहेकाले एकातिर आन्तरिक माग पूर्तिका लागि कफीको रोपण तथा उत्पादन वृद्धिमा सबैको ध्यान पुग्नु जरुरी देखिएको छ भने अर्कोतिर आयातित कफी नियमनमा पनि सबै सरकारी निकायहरूले भूमिका खेल्नुपर्ने देखिएको बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले बताउनुभएको छ ।
कफी किसानलाई संरक्षण र प्रोत्साहन गर्दै कफी क्षेत्रमा युवा पुस्ता आकर्षण गरी सीमित क्षेत्रमा गरिँदै आएको कफी खेतीलाई कफी स्टेटमा रूपान्तरण गर्न सकेमा मात्रै व्यावसायिक उत्पादन र आत्मनिर्भर बन्न सकिने तथ्यलाई बोर्डले प्रमुखताका साथ अगाडि बढाइरहेको उहाँको भनाइ छ ।



















