आठ दिदीबहिनीले गरे किरियापुत्रीको भूमिका: छोरीले तोडिन् भेदभावको जरा

काँकडभिट्टा । छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका आठ दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।
विगत आठ महिना अघि मृगौलामा समस्या देखिएपछि डाइलोसिस गराइरहेका मेचीनगर – ८ निवासी ५८ वर्षीय लोकबहादुर खड्काको मिति २०८१ पुस ९ गते मंगलबार निधन भएपछि उनका आठ छोरीहरु काजकिरियामा बसे । एउटै उमेर समूहका देखिने छोरीहरु विन्दु, संगीता, सन्ध्या, सविता, स्वेच्छा, स्नेहा, अञ्जु, र अनु किरियामा बसेका हुन् । सेतो कपडा पहिरिएर उनीहरुले बुवाको आत्माको शान्तिको कामना गर्दै छोरा सरह सबै कर्म पुरा गरे ।

बुबाको निधनपछि अन्तिम संस्कारका लागि उनीहरुले घाटमै पुगेर बाबुलाई दागबत्ती समेत दिएका थिए । रुढीबादी र गलत संस्कार तोड्दै आफूहरुले बाबुको किरियामा बसेको जेठी छोरी बिन्दूले बताइन् । ‘छोरीले बाबुको किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘उहाँका सन्तान हामी ८ छोरीहरु हौं । बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौं ।’ सुरुमा कतिपयले असहज माने पनि अहिले प्रशंशा गरिरहेका उनले बताइन् ।
‘बाबुआमाका लागि सन्तान सधैं बराबर हुन्छन्,’ उनले भनिन्, ‘बुवाले हामीलाई छोरा सरह माया गरेर हुर्काउनु भयो, त्यसैले छोरासरहकै जिम्मेवारी पूरा गर्न किरिया सुरु गरेका हौं ।’ बाबुको किरिया गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ । समाज परिवर्तनशील भएकाले धार्मिक परम्परालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने उनले बताइन् ।
किरिया गरेर छोरीहरुले पुरुषसरह नारीले पनि कर्तव्य निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको स्व. लोकबहादुरकी पत्नी पुजा खड्काले बताइन् । छोरीसँगै किरिया बस्दा आत्मसन्तुष्टी मिलेको उनी बताउँछिन् । ‘मनमा जति पीडा भए पनि छोरीहरुले सबै धार्मिक संस्कार विधिपूर्वक गरिरहेका छन्,’ उनले भनिन्, ‘छोरीहरुलाई नमूना र उदाहरणीय बनाउने उहाँको पनि सपना थियो, छोरीले पनि किरिया गर्ने आँट देखाएपछि शोकलाई शक्तिमा बदल्ने साहस मिलेको छ ।’
धर्मग्रन्थमा किरिया छोराले नै गर्नुपर्छ भन्ने उल्लेख नभए पनि लामो समयदेखि चलिआएको स्थानीय पुरोहित होमनाथ पौडेलले बताए । ‘छोरा र छोरी जो भए पनि सन्तानले किरिया गर्दा मृतकको स्वर्गमा बास हुन्छ,’ उनले भने, ‘कतिपय संस्कार रुढीबादी र धर्मविरोधी छन्, ती संस्कार बिस्तारै सुधार्न आवश्यक छ ।’
बाबुको मृत्युपछि छोरीले काजकिरिया गरेर उदाहरणीय काम गरेको मेचीनगर –८ का वडाध्यक्ष गिरीराज धमलाले बताए  । ‘छोरीहरुले गलत संस्कार तोड्ने साहस गरेका छन्,’ उनले भने, ‘मनमा पीडा भए पनि उनीहरुले साहस गरेर दागबत्ती दिए, अनि आफ्नो बुबाको विधी पूर्वक दशगात्र किरियाको काम गरे ।’ उनले समाजमा परिवर्तनको सम्बाहक छोरीहरु भएको बताए ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *