झापा, २ माघ । झापाको दमकमा गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियारको अंश (पार्टपुर्जा) प्रहरीले बरामद गरेको छ।
विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको टोलीले आज (शुक्रबार) बिहान १० बजे दमक नगरपालिका–१, सुकुम्बासी बस्तीस्थित डेक बहादुर थापाको घरमा छापा मारेको थियो।
प्रहरीले थापाको जस्ताले बेरेको टहराभित्र खानतलासी गर्दा भुइँको बालुवामा पुरेको अवस्थामा सर्टगनको ‘बट’ (Butt) फेला पारेको हो। बरामद गरिएको काठको बटमा ‘१३२०४४७’ नम्बर उल्लेख गरिएको छ। प्रहरी अभिलेख अनुसार, यो हतियार गत २०८२ साल भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी कार्यालयबाटै लुटिएको थियो।
प्रहरीले बरामद गरिएको हतियारको सो भाग (बेसाबुत हतियार) नियन्त्रणमा लिएको छ। घटनामा संलग्न भनिएका घरधनी डेक बहादुर थापा भने हाल फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



















