एआईयुक्त प्रविधिबाट ८६४ जनाको क्षयरोग परीक्षण: १६ जना बिरामी फेला


झापा, २६ बैशाख । जिल्लाको झापा गाउँपालिकामा अत्याधुनिक प्रविधि एआई जडित एक्स–रे मेसिनबाट क्षयरोग परीक्षण गरिएको छ ।
झापा गाउँपालिकाको तीन वटा स्थानमा एआई जडित एक्स–रे परीक्षण गर्दा १६ जना नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो ।
कूल आठ सय ६४ जनाको एक्स–रे गर्दा एक सय १३ जना शंकास्पद बिरामी फेला परेको र उनीहरुको खकार परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । “एक्स–रे गर्ने बित्तिकै १६ जना रोगी फेला परेका छन्, उनीहरुको उपचार शुरु गरिसकेका छौं”, उहाँले भन्नुभयो, “शंकास्द बिरामीको खकार परीक्षणको रिपोर्ट आएपछि बिरामीको संख्या बढ्न सक्छ ।”
गाउँघरमा लुकेर रहेका क्षयरोगीको खोज पड्ताल कार्यक्रम अन्तरगत झापा गाउँपालिकको कुमरखोद स्वास्थ्य चौकी, आधारभूत अस्पताल टाघनडुब्बा र शरणामती स्वास्थ्य चौकीमा एआई प्रविधि जडित एक्स–रे मेसिनसहित विशेषज्ञद्वारा बैशाख २३ गतेदेखि २५ गतेसम्म तीन दिने छाति रोग तथा क्षयरोग निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको दासले जानकारी दिनुभयो ।
“गाउँघरमा अझै धेरै रोगीहरु लुकेर रहेका छन्”, उहाँले भन्नुभयो, “सुक्ष्म तवरले खोजबिन गर्ने हो भने अझै धेरै भेटिन्छन् ।” ग्रामीण तथा विपन्न बस्तीहरुमा क्षयरोगको जोखिम धेरै रहेको उहाँ बताउनुहुन्छ ।
झापा गाउँपालिकको संयोजन, स्वास्थ्य निर्देशनालय धनकुटाको प्राविधिक सहयोग र स्वास्थ्य कार्यालय झापाको आयोजनामा छाति रोग तथा क्षयरोग निःशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो ।
झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिका–६ का वडाध्यक्ष नविनकिशोर थापाको प्रमुख आतिथ्य रहेको थियो । शिविर समापन कार्यक्रममा स्वास्थ्य चौकी शरणातिका लीला पोखरेल, स्वास्थ्य कार्यालय झापाका युवनाथ बराल, क्षेत्रीय निर्देशनाल धनकुटाका डा. विपेश मण्डल लगायतको आतिथ्य रहेको थियो ।
कोशी प्रदेशमा रहेको एक वटा एआई प्रविधियुक्त एक्स–रे मेसिनले कोशी प्रदेशका १४ वटै जिल्लामा नविनतम् प्रविधिबाट क्षयरोग पत्ता लगाएर निदान गर्ने कार्य भइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *