बेलबारी — अन्तर्राष्ट्रिय सडक सञ्जालमार्फत एसियाली मुलुकहरूलाई जोड्ने महत्वाकांक्षी योजना एसियन हाईवे अन्तर्गत काँकडभिट्टा–लौकही खण्डको कालोपत्रको काम औपचारिक रूपमा सुरु भएको छ।
आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिका अनुसार मंगलबार लक्ष्मीमार्ग क्षेत्रबाट एक लेनको कालोपत्र सुरु गरिएको हो। कुल १५ महिनाको अवधिमा २३ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी उनले दिएका छन्।
एसियाली राजमार्ग नम्बर २ मा पर्ने यो खण्ड झण्डै १२० किलोमिटर लम्बाइको भए पनि हालसम्म ९५.७६ किलोमिटरमा मात्र काम भैरहेको छ। परियोजना पूर्व र पश्चिम खण्डमा विभाजन गरेर अघि बढाइएको छ।
चालु आर्थिक वर्षमा कम्तीमा १० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको प्रजापतिले बताएका छन्। पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार सो क्षेत्रमा २१ प्रतिशत काम सम्पन्न भइसकेको छ भने त्यहाँ पनि १० किलोमिटर कालोपत्रको लक्ष्य राखिएको छ।
यस परियोजनामा पूर्वी खण्डमा ५० र पश्चिमी खण्डमा ७० वटा कल्भर्ट निर्माण भइसकेका छन्। राजमार्गको चौडाइ बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर हुने जानकारी दिइएको छ।
एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा यो योजना २०८० साल माघ १९ गतेदेखि औपचारिक रूपमा निर्माणमा प्रवेश गरेको हो।