झापा। झापाको कचनकवल–२ स्थित पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजले निर्माण गरेको संग्रहालयका लागि कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अभूतपूर्व सहयोग गरेको छ।
सांस्कृतिक उत्थान, कला संरक्षण, र समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले मन्त्रालयले ७ लाख रुपैयाँ बराबरको बाजागाजा तथा संगीत उपकरणहरू प्रदान गरेको हो। यो सहयोगले गन्धर्व समुदायका नयाँ पुस्ताहरूलाई आधुनिक र परम्परागत संगीतको प्रशिक्षण प्रदान गर्दै, आफ्नै संस्कृति भित्रै स्वरोजगार बन्ने मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।
समाजका अध्यक्ष रवीन गन्धर्वका अनुसार यो सहयोग गन्धर्व समुदायको लागि एक क्रान्तिकारी अवसर हो। प्राप्त सामग्रीमा पञ्चेबाजा, विद्युतीय वाद्ययन्त्रहरू, सारङ्गी, हार्मोनियम, ढोलक, गिटार लगायतका उपकरणहरू समावेश छन्।
“यो हाम्रो समुदायको सांस्कृतिक पहिचानलाई पुनर्जागृत गर्ने सुनौलो अवसर हो। राज्यबाट प्राप्त यो अभूतपूर्व सहयोगले हाम्रो परम्परागत बाजागाजा र संगीतलाई नयाँ उचाइमा पुर्याउनेछ। अब हाम्रा सन्तानले आफ्नो कलालाई निखारेर जीवनयापन गर्न सक्नेछन्,” अध्यक्ष गन्धर्वले उत्साहका साथ बताए।
यो सहयोग केवल बाजा उपकरणको वितरण मात्र नभई गन्धर्व समुदायको सांगीतिक पुनर्जागरणको अभियान हो। अब समुदायका सदस्यहरूले आफ्नै थलोमा रही संगीत सिक्न, संरक्षण गर्न र त्यसैबाट आम्दानी गर्न सक्नेछन्। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै, आफ्नै पहिचान भित्रै आत्मनिर्भर बन्ने मार्ग खुल्नेछ।
सांस्कृतिक उत्थानको यो अभियानले गन्धर्व समुदायलाई नयाँ आशाको संजीवनी दिएको छ। कोशी प्रदेश सरकारको यो ऐतिहासिक पहलले नेपालका अन्य जातीय समुदायहरूलाई पनि आफ्नो संस्कृति जगेर्ना गर्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।



















