झापा, असार २५ – झापाको बाह्रदशी गाउँपालिका १ खैरबारीस्थित भित्री सडकखण्डमा बुधबार दिउँसो साढे ३ बजे भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।
राजगढतर्फबाट कुटी जाँदै गरेको BR37AZ 6440 नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६ प ९२७० नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर स्कुटर चालक कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजबंशी र मोटरसाइकल चालक(पहिचान खुल्न बाँकी)लाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर उपचारको क्रममा करिब १६:४० बजे दुबैको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।
स्कुटरमा सवार राजबंशीकी बुहारी २७ वर्षीया उर्मिला राजबंशी र उनका ३ वर्षीय छोरा आयुष राजबंशी गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि बिएण्सी अस्पताल बिर्तामोड पठाइएको छ। घाइते दुवैको अवस्था गम्भीर रहेको र बोल्न सक्ने अवस्थामा नरहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनाग्रस्त दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय राजगढको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ।