- कचनकवल
झापाको कचनकवल ७ स्थित श्री जनता माध्यमिक विद्यालयमा गुनासो सुनुवाई संयन्त्र स्थापनासँगै विद्यार्थीलाई उनीहरूका अधिकार तथा गुनासो प्रस्तुत गर्ने प्रक्रियाबारे अभिमुखीकरण प्रदान गरिएको छ।
विद्यालयमा आयोजित कार्यक्रममा एसएनजेडीका कार्यक्रम अधिकृत सुरज दंगालले विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष लवनसिंह राजवंशीलाई गुनासो पेटिका हस्तान्तरण गरेका छन्। साथै, उनले विद्यार्थीलाई गुनासो सुनुवाई कार्यविधि २०७४ सम्बन्धी प्रशिक्षण तथा मार्गदर्शन प्रदान गरे।

कक्षा ७, ८, र ९ का विद्यार्थीलाई लक्षित उक्त प्रशिक्षणमा प्रशिक्षक दंगालले विद्यालयमा कुनै समस्या, अन्याय वा असुविधा भोगेमा गुनासो पेटिकामार्फत प्रशासनसम्म आफ्ना कुरा पुर्याउन सकिने जानकारी दिए। उनले यस्तो संयन्त्रले विद्यार्थीको हकहित सुरक्षित गर्ने, विद्यालय वातावरणलाई अझ अनुशासित, न्यायोचित र समावेशी बनाउने विश्वास व्यक्त गरे।

८० जना शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले गुनासो सुनुवाई संयन्त्र विद्यार्थीका लागि प्रभावकारी माध्यम बन्ने धारणा व्यक्त गर्दै विद्यालय प्रशासनले यसको सार्थक कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए।
विद्यालय प्रशासनका अनुसार गुनासो पेटिका नियमित रूपमा अनुगमन गरिनेछ र प्राप्त गुनासोलाई सम्बन्धित निकायमा पेस गरी समाधानको पहल गरिनेछ।
कार्यक्रम अधिकृत दंगालले आगामी दिनमा कचनकवल भित्रका सम्पूर्ण विद्यालयमा गुनासो सुनुवाई संयन्त्र स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए।



















