४ विद्यालयको ‘शून्य नतिजा’, कचनकवलमा सामुदायिक शिक्षा संकटग्रस्त
कचनकवल गाउँपालिका अन्तर्गत सञ्चालित २३ विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी ८ सय विद्यार्थीमध्ये मात्र २३६ जना उत्तीर्ण भएका छन्। सार्वजनिक भएको नतिजाले पालिकाभित्रको शैक्षिक गुणस्तरप्रति गम्भीर प्रश्न उठाएको छ।
कचनकवल विद्यामन्दिर माध्यमिक विद्यालयले ३८ विद्यार्थीमध्ये ३० जनालाई उत्तीर्ण गरेको छ।
त्यसपछि बिद्यापानी माध्यमिक विद्यालयले ४९ मध्ये २१ जनालाई सफल बनाएको छ।
साउथ दीप एकेडेमीले १२ मध्ये ११ विद्यार्थी, मेची इङ्लिस बोर्डिङ स्कुलले २२ मध्ये १६ विद्यार्थी, र गोल्डेन फ्युचर एजुकेसन फाउन्डेसनले २४ मध्ये ११ विद्यार्थी सफल बनाएका छन्।
विद्या निकेतन माध्यमिक विद्यालयबाट ३८ विद्यार्थी सहभागी हुँदा २४ जना उत्तीर्ण भए।
तर, नवज्योति विद्यालयको नतिजा भने निराशाजनक रह्यो—७ मध्ये १ जना मात्र उत्तीर्ण।
श्री स्वर्णिम शिक्षा सदन माविबाट ६१ विद्यार्थी सहभागी हुँदा ३० जनाले सफलता प्राप्त गरे।
सामुदायिक विद्यालयको दयनीय अवस्था
विपरीत, अधिकांश सामुदायिक विद्यालयहरूको नतिजा अत्यन्तै कमजोर देखिएको छ।
श्री नवा दुर्गा आधारभूत विद्यालय, श्री जनकी माध्यमिक विद्यालय (वडा–७), र सहिद गङ्गालाल आधारभूत विद्यालयबाट सहभागी भएका विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन्।
सबैभन्दा बढी ७१ विद्यार्थी सहभागी गराएको श्री लक्ष्मी प्रसाद देवकोटा माविबाट १४१ मात्र २४ जनाले सफलता पाए। त्यस्ति, लक्ष्मी माविबाट सहभागी ७१ मध्ये १३ जना उत्तीर्ण गरेको छ।
जानकी माध्यमिक विद्यालय (वडा–५) मा ५२ मध्ये ६ जना, जनता माविमा ३७ मध्ये १२ जना, श्री पथरिया माविमा ४० मध्ये १५ जना, र श्री बुद्ध माविमा २४ मध्ये १० जना मात्र उत्तीर्ण भए।
त्यस्तै, सरस्वती आधारभूत विद्यालयमा २१ मध्ये ४ जना, शिव माविमा १२ मध्ये १ जना, महेन्द्र रत्न माविमा ३६ मध्ये १ जना, र श्री मोति माविमा ५१ मध्ये ४ जनाले मात्र परीक्षा पास गरेका छन्।
गगन आधारभूत विद्यालयबाट १४ मध्ये २ जना सफल भए भने आमबाडी आधारभूत विद्यालयका सबै ९ जना विद्यार्थी असफल भए।
