कचनकवल। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कचनकवल गाउँपालिकामा विभिन्न चेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा भएको यो अभियानले लैङ्गिक हिंसाबारे जनचेतना फैलाउन, कानुनी जानकारी दिन, र पीडितलाई सहयोगका उपायबारे जानकारी गराउन महत्वपूर्ण भूमिका खेलेको छ।
अभियानको औपचारिक उद्घाटन कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीले दीप प्रज्वलन गरेर गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई सभापतिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सञ्चालन उमेश मिश्रले गर्नुभएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सुनिता दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै अभियानका उद्देश्यहरू प्रष्ट पार्नुभएको थियो।
कार्यक्रमको प्रमुख आकर्षण झापा जिल्ला न्यायाधीश प्रकाश अधिकारीद्वारा प्रदान गरिएको प्रशिक्षण रह्यो। “घरेलु तथा लैङ्गिक हिंसाविरुद्धको प्रयासमा नेपाल: नीति, कानुन र समाजको भूमिका” विषयमा उहाँले समाजमा व्याप्त लैङ्गिक असमानता, हिंसाको कानुनी प्रावधान, र कार्यान्वयनका चुनौतीहरूबारे चर्चा गर्नुभयो।
न्यायाधीश अधिकारीले संविधान र राष्ट्रिय नीति दुवैले लैङ्गिक हिंसालाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि सामाजिक र परम्परागत मान्यताका कारण चुनौती कायमै रहेको बताउनुभयो। उहाँले महिला अधिकारका लागि सरकारद्वारा उपलब्ध कानुनी संरचना र सेवा सुविधाहरूको प्रभावकारी उपयोग गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, शिक्षक, महिला अधिकारकर्मी, र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले समाजमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि व्यापक सचेतना अभियान चलाउनुपर्नेमा जोड दिए।
गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीले विगतका अभियानहरूले अपेक्षित सफलता नपाए पनि यस पटकको प्रयासबाट सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो। “लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो।
अभियानको क्रममा महिलाहरूको सम्पत्ति अधिकार, विवाह तथा सम्बन्धविच्छेदमा समान हक, एकल महिलालाई सामाजिक भत्ता, र कानुनी सहायता सेवा जस्ता विषयमा जानकारी प्रदान गरियो। साथै, पीडितलाई आश्रय केन्द्र र आपतकालीन सेवा उपलब्ध गराउन गरिएका व्यवस्थाहरू पनि प्रस्तुत गरियो।
“हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने नाराका साथ आयोजित यस अभियानले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकार, समुदाय, र न्याय प्रणालीबीचको सहकार्यलाई सुदृढ पार्न योगदान पुर्याएको छ।
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले कार्यक्रम समापन गर्दै समाजमा न्यायको पहुँच पुर्याउन स्थानीय सरकारका भूमिका र मेलमिलापको महत्वमा जोड दिनुभयो। “हामीले समाजमा सहिष्णुता र भातृत्वको भावना कायम गर्दै लैङ्गिक हिंसाका घटना नियन्त्रण गर्न सबै पक्षबाट साझा प्रयास गर्नुपर्छ,” उहाँले भन्नुभयो।