कचनकवल। कचनकवल गाउँपालिकामा कोशी प्रदेश सरकार र गाउँपालिकाको समपूरक कोषबाट सञ्चालित योजनाअन्तर्गत सडक निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। निरन्तर दुई आर्थिक वर्षदेखि निर्माण भइरहेको यो योजना केदार राजवंशीको घर हुँदै मोती मावि र दल्की जोड्ने सडक हो।
विगतमा मोती माविसम्म सडक निर्माण भइसकेकोमा यसपटक मोती माविबाट दल्कीसम्मको १,२०० मिटर सडक कालोपत्रे गरिएको हो। कुल करिब ३.७५ किलोमिटर लम्बाइ रहेको यस सडकको दल्कीदेखि नेत्र मार्ग घेराबारीसम्मको १,००० मिटर खण्ड अझै निर्माण हुन बाँकी रहेको कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए।
उनका अनुसार प्रदेश सरकारको समपूरक कोषमार्फत यही सडक निर्माणमा निरन्तरता दिइएको छ। कर्मागत योजना भएकाले आगामी फागुनदेखि चैतसम्ममा बाँकी खण्ड सम्पन्न गरी दल्की जोड्ने लक्ष्य लिएको जनाइएको छ।
यस्तै, गाउँपालिकाभित्रका अन्य सडक योजनाहरू पनि अगाडि बढाइएको छ। “जेठ ५–६ गतेभित्र ब्ल्याकटपका लागि ‘ए वान’ बोलपत्रमार्फत ११ वटा सडक निर्माण कार्य अगाडि बढाइनेछ,” उपाध्यक्ष भट्टराईले बताए।
संघीय सरकारसँग सहकार्य गर्दै गाउँपालिकाले भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिएको छ। संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय तथा प्रदेश सरकारमार्फत समेत सडक निर्माण कार्य अगाडि बढिरहेको छ। कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्षलाई ‘सडक पूर्वाधार गर्वको वर्ष’को रूपमा मनाउने तयारी गरेको छ।
गाउँपालिकाभित्र २५ भन्दा बढी सडकहरू कालोपत्रे हुनेछन्। स्थानीय बासिन्दालाई सहज आवागमनसहित कृषिजन्य उत्पादन— मकै, धान, दुग्धजन्य पदार्थ लगायतलाई बजारसम्म पुर्याउन मद्दत पुर्याउने उद्देश्य रहेको उपाध्यक्ष भट्टराईले बताए।
“अहिले विकास जनचाहनाका आधारमा भइरहेको छ,” उनले भने, “हामी आर्थिक समृद्धितर्फ उन्मुख समावेशी समाज निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं।”



















