- नवीन उप्रेती
कचनकवल। कचनकवल गाउँपालिकाले आज आकस्मिक बैठक बसेर हालै देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण पालिकाभित्र भएको क्षति, सेवा प्रवाह अवरोध र शान्ति सुरक्षासम्बन्धी विषयमा निर्णय गरेको छ।
बैठकले गाउँपालिकाको मुख्य प्रशासनिक भवन र अन्य कार्यालयहरूमा ठूलो क्षति पुगेकाले तत्कालीन अवस्थामा सेवा सञ्चालन गर्न वडा नं. ६ स्थित १५ शैयाको आधारभूत अस्पताल भवनलाई अस्थायी गाउँपालिका कार्यालयका रूपमा प्रयोग गर्ने निर्णय गरेको छ। साथै वडा नं. ४, ५, ६ र ७ का कार्यालयमा भएको क्षतिको प्राविधिक मूल्याङ्कन गर्न पूर्वाधार विकास शाखा प्रमुखको संयोजनमा प्राविधिक टोली गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ।
आन्दोलनका क्रममा तोडफोड, आगजनी वा लुटपाटमा संलग्न देखिएका कर्मचारी वा शिक्षकमाथि छानबिन गर्ने र दोषी प्रमाणित भएमा करार सेवामा रहेका कर्मचारीको सेवा तत्काल खारेज गर्ने तथा स्थायी कर्मचारी वा शिक्षकविरुद्ध प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने निर्णय पनि बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।
त्यससँगै बैठकले अत्यावश्यक सेवा निरन्तरता दिनका लागि क्षतिग्रस्त वडा कार्यालयहरूलाई सफा गरी व्यवस्थापन गरेर सेवा सुरु गर्ने र वडा नं. १, २ र ३ बाट भने पुर्ववत सेवाप्रवाहलाई निरन्तरता दिने निर्णय गरेको छ।
यस बाहेक बैठकले आन्दोलनमा शहीद भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। शान्ति सुरक्षा अझै पूर्ण रूपमा स्थापित नभएकाले गाउँबासीलाई आफ्नो ठाउँबाट सहयोग गर्न आव्हान गरिएको छ।
निकटै चाडपर्वलाई मध्यनजर गर्दै बजारमा देखिन सक्ने कालोबजारी नियन्त्रण गर्न विशेष पहल गर्ने र दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय पनि भएको छ। साथै आवश्यक खरिदका कार्यहरू सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार पारदर्शी ढङ्गले अघि बढाउने पालिकाले जनाएको छ।
बैठकले तोडफोड र आगजनीसँग सम्बन्धित फोटो, भिडियो, सीसीटीभी फुटेज र अन्य प्रमाणहरू प्रशासनलाई उपलब्ध गराउने र दोषीलाई कानुनअनुसार कारबाही गर्न माग गर्दै बैठक सम्पन्न गरेको प्रमुख प्रसासकिय अधिकृत स्काई पोखरेलले जानकारी दिनुभयो।