बनियानी। झापाको कचनकवल गाउँपालिकाको सोह्रौं गाउँसभा अधिवेशन २०८१ फाल्गुन १९ गते प्रारम्भ भई आज चैत्र ९ गते सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको अध्यक्षतामा अधिवेशन समापन भएको हो।
गाउँसभाको पहिलो बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरिनुका साथै योजनाहरू संसोधन, बजेटको अर्धवार्षिक समीक्षा, ऐन तथा कार्यविधि निर्माण, न्यायिक तथा लेखा समितिका प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि पेश गरिएका योजनाहरूको संसोधन तथा रकमान्तर सम्बन्धी प्रस्ताव बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले पेश गरेका थिए। उक्त प्रस्तावलाई कार्यपालिका सदस्य उमाशंकर गणेशले समर्थन गरेपछि सर्वसम्मत रूपमा पारित गरिएको घोषणा गरिएको थियो।
त्यस्तै, गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक विनियोजन तथा आर्थिक विधेयक (बजेट) को अर्धवार्षिक समीक्षा उपाध्यक्ष नवराज भट्टराईले पेश गरेका थिए। उक्त समीक्षा वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि खरेलको समर्थनमा अनुमोदन गरिएको थियो।
गाउँ कार्यपालिकाका बैठकहरूमा भएका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव वडा नं. ७ का वडाध्यक्ष एवं सुशासन समिति संयोजक भरत राजवंशीले पेश गरेका थिए भने वडा नं. ३ का वडाध्यक्ष ग्यास आजमल मियाँले समर्थन गरेका थिए। सभाका सदस्यहरूबाट कुनै विरोध नआएपछि सर्वसम्मत रूपमा निर्णयहरू पारित गरिएको घोषणा गरियो।
गाउँसभाको अधिवेशन हिउँदे अधिवेशनका रूपमा संचालन भई कानुन निर्माण, बजेट समीक्षा, योजना संसोधन, स्थानीय पूर्वाधार तथा विकास योजनाहरूको कार्यान्वयन समीक्षा लगायतका विषयहरूमा केन्द्रित रहने बताइएको छ।
अधिवेशनको समापन सत्रमा अध्यक्ष राजवंशीले गाउँपालिकाको समग्र विकासका लागि सहकार्यको आवश्यकता रहेको बताउँदै स्थानिय सरकारको भूमिका प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरे। साथै, उनले नयाँ कार्यक्रमहरू कार्यान्वयन, सुशासन प्रवर्द्धन र बजेटको प्रभावकारी सदुपयोग गर्नुपर्नेमा जोड दिए।
गाउँसभाले स्थानीय विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न रणनीति तय गर्दै आर्थिक तथा कानुनी पक्षहरूलाई व्यवस्थित गर्ने निर्णयहरू पारित गरेको छ।