कचनकवल – ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा झापाको कचनकवल गाउँपालिकामा ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियानअन्तर्गत लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि आमा सशक्तिकरण कार्यक्रम आजबाट शुभारम्भ भएको छ। अभियानको पहिलो चरणअन्तर्गत आज गाउँ कार्यपालिकाको सभाहल, बनियानीमा वृहत कार्यक्रम आयोजना गरिएको थियो।
यस अभियानले युवामाझ बढ्दो लागूपदार्थ दुरुपयोगको समस्या न्यूनीकरण गर्न आमाहरूलाई सशक्त बनाउन लक्ष्य लिएको छ।
कार्यक्रमको संयोजकत्व गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले गरेका थिए, भने प्रमुख अतिथि झापा जिल्ला समन्वय समिति अध्यक्ष विश्वनाथ बराल थिए। साथै, झापा प्रहरी उपरीक्षक खगेन्द्र खड्का र लागूपदार्थ दुर्व्यसनी अभियन्ता तथा प्रशिक्षक सोमराज ढकालले संयुक्त रूपमा प्रशिक्षण दिएका थिए।

अभियानका मुख्य चरणहरू
- पहिलो चरण: गाउँपालिका स्तरीय वृहत कार्यक्रम।
- दोस्रो चरण: लागू पदार्थ दुरुपयोगबाट बढी प्रभावित १० स्थानमा आमाहरूलाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन।
अभियान शुभारम्भ कार्यक्रममा “For All Women and Girls: Rights, Equality, and Empowerment” (सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता, र सशक्तिकरण) भन्ने नाराका साथ ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको समन्वयमा प्रारम्भ गरिएको यो अभियानले आमाहरूलाई लागू पदार्थ नियन्त्रणमा मुख्य अभिभावकको भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ। कार्यक्रममा स्वास्थ्य आमा समूहका अध्यक्षहरू, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षिका, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, महिला संघ-संगठनका पदाधिकारीहरू तथा स्थानीयबासीहरू उल्लेखनीय रूपमा सहभागी भएका थिए।

आमाहरू किन महत्त्वपूर्ण?
- आमाहरू आफ्ना छोराछोरीहरूको व्यवहार सबैभन्दा राम्रोसँग बुझ्छन्।
- छोराछोरीहरूको दैनिक गतिविधि, साथीभाइको संगत, खानपानको परिवर्तन आदिबारे आमाहरू बढी जानकार हुन्छन्।
- बच्चाहरू आमासँग सहज रूपमा खुलेर कुरा गर्छन्, जसले लागू पदार्थ दुरुपयोगको पहिचान गर्न मद्दत गर्छ।
- कतिपय आमाहरू सन्तानको कुलतबारे जानकार भए पनि समाधानको उपाय नजान्ने अवस्था हुन्छ।
- अभिभावक नै सकृय हुँदा दुर्व्यसनी नियन्त्रण थप प्रभावकारी बन्ने देखिएको छ।
- विगतमा जाँड–रक्सी, जुवातास नियन्त्रणमा आमा समूहको अभियान प्रभावकारी देखिएको छ।
गाउँपालिकाले दुर्व्यसनविरुद्धको यो अभियानलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन दीर्घकालीन रणनीतिक योजना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता दाहालले राखेकी थिइन् भने शुभकामना मन्तव्य महिला सञ्जाल कचनकवलकी प्रतिनिधि सेलेतुन खातुन र न्यायीक समिति सदस्य बबिता काफ्लेले राखेका थिए। कार्यक्रमको सञ्चालन गाउँपालिका उपाध्यक्षको सचिवालय प्रतिनिधि उमेश मिश्रले गरेका थिए।
‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।



















