योगेन्द्र योगी
दोहा : गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न विश्व सम्मेलनमा राजेन्द्रकुमार(आरके) शर्माले अध्यक्षमा उठ्ने अनौपचारिक घोषणा गरेका छन् ।
कतारकोमा नेपाल महिला समाज कतार र एनआरएनए एनसीसी कतार महिला विभाग समन्वयमा कतारमा क्रियाशिल ५७ वटा संघ, संस्थाको आयोजनामा भएको रमाइलो तिज कार्यक्रम सचेतना तथा विविध सांस्कृतिक कार्यक्रममा शर्माले आफूले ५७ वटा संस्थालाई साक्षी राखेर अध्यक्षमा उठ्ने घोषणा गरेका हुन ।
“कतारमा स्थापित सबै संघ संस्थाले गरेको कार्यक्रम मार्फत मैले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु,”शर्माले दोहामा आयोजित कार्यक्रममा भने,“१० दिनभित्रमा काठमाडौंमा औपचारिक कार्यक्रम गरेर आफ्नो एजेन्डा सहित उम्मेदवारी घोषणा हुने छ।” शर्माको उम्मेदवारीले कतारका सबै सामाजिक संघ संस्थाले समर्थन जनाएका छन ।
उनले आफूले कतारमा श्रमिक हुँदै व्यवसाय गरेर सामाजिक अभियानमा जोडिएको भन्दै एनआरएनए आइसीसीको उम्मेदवारी सम्बृद्ध नेपाल बनाउनको लागि र विदेशमा बस्ने सबै नेपालीलाई जोड्नको लागि भएको बताए । उनले अनौपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दै गर्दा एनआरएनएका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोल,कतारका अग्रज अभियन्ता तथा पूर्व उपाध्यक्ष सागर नेपाल सहितको सपना साकार बनाउन अध्यक्षमा उठ्न लागेको बताए ।
“गैरआवासीय अभियान अन्तर्गत दोस्रो संघ कतारमा स्थापना भयो, संस्थापक उपाध्यक्ष समेत कतारबाट डा डंगोल बन्नुभयो,”उनले थपे,“त्यसपछि अग्रज सागर नेपाल उपाध्यक्ष बन्नुभयो । नेतृत्वमा लैजानको लागि पूर्वाग्रह राख्ने काम अहिलेसम्म भएको छ,यो पटक त्यो तोडिने छ।” उनले गैरआवासीय अभियानमा आफूले विदेशमा बस्ने नेपालीका मुद्दाहरू नागरिकता देखि लिएर श्रमिक तथा दोस्रो पुस्ताका मुद्दाहरू बोकेको जानकारी दिए । उनले अब चाडै काठमाडौँ गएर औपचारिक कार्यक्रम गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताए ।
उनले मध्यपुर्वलगायत विश्वाभरिका सामाजिक अभियान्ताहरुको विचार र मन फरक रहला तर लक्ष्य उदेश्य एक मत बनाएर सामाजिक सस्थाको मुख्य उदेश्य नेपालीका लागि नेपाली भन्ने मुल उदेश्य अनुरुप साझा रूपमा अगाडि बढौ भन्ने दृढ संकल्प बोकेर मध्यपुर्व देखि ,युरोप,ओसियाना लगायतका करिब ३५ राष्ट्र पुगेर त्यहाँ एनसीसी साथै सामाजिक अभियान्ता बुद्धिजिवीहरुसँग साक्षत्कार गर्दै सुझाव संकलन गरि रहेका छन् ।
अमेरिका क्षेत्रका अभियन्ताहरूसँग भेटेर अन्तरक्रिया गर्न क्यानडाको यात्रामा निस्किने उनले बताए । पछिल्ला साता विश्वभरका नेपालीहरूबाट पाएको सल्लाह र सुझावले निकै उत्साहित बनाएको बताए । विश्वभरका नेपालीहरूलाई भेट्नको लागि भइरहेको भ्रमणको कारण कल तथा फोन पनि उठाउन नसकेको उनको भनाइ छ।
कतारलाई कार्यथलो बनाएर स्वदेश र विदेशका विभिन्न मुलुकमा व्यवसाय गर्दै आएका शर्मा प्रवासमा रहेका नेपाली व्यवसायीसँगै श्रमिकहरुको हकहितका लागि सक्रिय रहेकाे उनले बताए । शर्माले एनआरएनएलाई विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा चौतारी बनाउने प्रतिवद्धता जनाए। २१ औं शताब्दी अनुसार प्रविधीमैत्री एनआरएनए बनाउनु पर्ने धारणा उनको छ।
यस्तै एनआरएनएको आगामी कार्यकाल सन् २०२३–०२५ का लागि वर्तमान उपाध्यक्ष महेश श्रेष्ठले आफ्नो अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । ललितपुरको होटल हिमालयमा पत्रकार सम्मेलन गरेर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।



















