झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा अलैँची र छुर्पीको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। मेची भन्सार कार्यालयका अनुसार साउनदेखि पुस मसान्तसम्ममा ७ अर्ब १९ करोड ९५ लाख रुपैयाँ बराबरको ३४ लाख ६१ हजार केजी अलैँची निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५८ प्रतिशतले बढी हो।
अलैँचीसँगै कुकुर र बिरालोको आहाराका रूपमा तेस्रो मुलुक निर्यात हुने छुर्पीको व्यापार पनि ६६.२ प्रतिशतले बढेको छ। यस अवधिमा ७६ करोड ५ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार केजी छुर्पी निर्यात भएको छ। यसका अतिरिक्त मुसुरो दालको निर्यातमा ४८१ प्रतिशत र भेनियर सिटको निर्यातमा १०९ प्रतिशतको अप्रत्याशित वृद्धि देखिएको छ।
यद्यपि, नेपालको प्रमुख निर्यातजन्य वस्तु चिया र प्लाइउडको व्यापारमा भने गिरावट आएको छ। भन्सार कार्यालयका अनुसार चियाको निर्यात २६.४ प्रतिशत र प्लाइउडको निर्यात ४४.५ प्रतिशतले घटेको छ। तथ्याङ्क अनुसार यस अवधिमा २ अर्ब १७ करोड रुपैयाँको चिया र १ अर्ब ९ करोड रुपैयाँ बराबरको प्लाइउड निकासी भएको छ।
कृषिजन्य अन्य वस्तुतर्फ अदुवा, अम्लिसो र तरकारीको निर्यात पनि सन्तोषजनक देखिएको छ। अर्धवार्षिक अवधिमा ५० करोड १७ लाखको अदुवा, ३३ करोड ८९ लाखको अम्लिसो र करिब साढे ११ करोड रुपैयाँ बराबरको काउली, बन्दा तथा ब्रोकाउली निर्यात भएको भन्सारका सूचना अधिकारी ईश्वरकुमार हुमागाइँले जानकारी दिएका छन्।



















