झापा — वैदेशिक रोजगारीका लागि कुवेत गएका बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्कीको निधन भएको छ। मृत्युको कारण अहिलेसम्म स्पष्ट नभएको परिवारले जनाएको छ।
विकासका पिता ध्रुवराज कार्कीले छोरा अस्वाभाविक रूपमा मृत भेटिएको जानकारी पाएको तर मृत्युको ठोस कारण नखुलेको बताएका छन्। ‘छोराको निधनको खबर त आयो, तर के कारणले मृत्यु भयो भन्ने यकिन खुल्न सकेको छैन,’ उनले भने।
डेढ वर्षअघि काठमाडौंस्थित ओमेगा इन्टरनेश्नल म्यानपावर कम्पनीमार्फत कुवेत पुगेका विकास त्यहाँको ईटिसी कुवेत कम्पनीमा कार्यरत थिए। उनको निधनसँगै अर्को नेपालीको पनि मृत्यु भएको अपुष्ट जानकारी आएको छ।
छोराको असामयिक निधनले स्तब्ध बनेको कार्की परिवारले शव चाँडोभन्दा चाँडो नेपाल ल्याउन र मृत्युको वास्तविक कारणबारे छानबिन गर्न सरकारसँग माग गरेको छ।



















