कोशीमा खोरेतविरुद्धको खोपले मच्चायो वितण्डा: २६ पशुको मृत्यु, १५ हजारभन्दा बढीमा गम्भीर असर

काठमाडौं। कोशी प्रदेशमा खोरेत (फुट एन्ड माउथ डिजिज) रोग नियन्त्रणका लागि लगाइएको खोपले ठूलो संख्यामा पशुहरूलाई नकारात्मक असर पारेको छ। खोप लगाएलगत्तै केही पशु बिरामी पर्नुका साथै मृत्यु भएका घटनाहरूले खोपको गुणस्तरमा गम्भीर प्रश्न उठाएको हो। पशु सेवा विभागको एक प्रतिवेदनले पनि खोपमा खराबी भएको निष्कर्ष निकालेको छ।

झापाको बुद्धशान्ति गाउँपालिकामा एक किसानको बाच्छीलाई खोप लगाएको ८ मिनेटमै मृत्यु भएको घटना प्रतिवेदनमा किटान गरिएको छ। कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयमार्फत वितरित खोप अभियान गत कात्तिक २३ गतेदेखि सुरु भएको थियो। विभागले सातै प्रदेशमा पठाएको करिब ९८ लाख डोज खोपमध्ये कोशीलाई २२ लाख ९० हजार २०० डोज उपलब्ध गराइएको थियो।

EPIC EPIC EPIC

प्रदेशभर ७ लाख ६१ हजार ३७१ पशुलाई खोप लगाइएकोमा २६ वटा मरेका र १५ हजार ६३७ मा गम्भीर दुष्प्रभाव देखिएको निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले बताए। “अझै पूर्ण रिपोर्ट आउन बाँकी छ, संख्या थपिन सक्छ,” उनले भने। उदयपुरमा मात्र खोप लगाइएका ७ हजार ४८९ पशुमध्ये ३ मरेका र २५७ मा गम्भीर समस्या देखिएको थियो।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार खोपको गम्भीर दुष्प्रभाव ०.०१ प्रतिशतभन्दा कम हुनुपर्नेमा कोशीमा यो दर करिब २ प्रतिशत पुगेको छ। वैज्ञानिक अध्ययनले खोपपछि गाँठो पर्ने वा ज्वरो आउने जस्ता अल्पकालीन असर सामान्य मानिए पनि ठूलो संख्यामा मृत्यु र समस्या अस्वाभाविक हो।

निरीक्षण प्रतिवेदनः खोप भायल बिग्रिएको र रंग परिवर्तन भएको पाइयो

दुष्प्रभाव बढेपछि पशु सेवा विभागले मंसिर २ गते वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ नेतृत्वको टोली फिल्डमा खटाएको थियो। टोलीको प्रतिवेदनले कोशीका विभिन्न स्थानीय तहमा ५ देखि १०० प्रतिशतसम्म पशुमा नकारात्मक असर परेको उल्लेख गरेको छ। सुनवर्सी र लेटाङ नगरपालिकामा १०० प्रतिशत, रतुवामाईमा ५० प्रतिशत, उर्लाबारीमा ३० प्रतिशत र कानेपोखरीमा २५ प्रतिशत पशु प्रभावित भएका थिए।

प्रतिवेदनमा खोप भायल बिग्रिएको, सेतो रंगबाट रातोमा परिवर्तन भएको र थ्रिगिएको पाइएको जनाइएको छ। टोलीले खराब देखिएका सबै ब्याचको गुणस्तर परीक्षण गर्नुपर्ने लगायत १० बुँदे सुझाव दिएको थियो। सोही आधारमा विभागले भारतीय कम्पनी ब्रिलियन्ट बायो फर्माको ‘फुटभ्याक्स’ ब्याच नं. सी२५भी२५००५ का ५ लाख ८० हजार डोज फिर्ता गर्ने निर्णय गरेको छ। तर खोप गुणस्तरहीन कसरी भयो र जिम्मेवारी कसको भन्ने स्पष्ट भएको छैन।

निर्देशनालयका अनुसार अन्य तीन ब्याचमा पनि दुष्प्रभाव देखिएको छ, जसले विभागको निष्कर्षसँग बाझिएको छ।

खोप खरिद प्रक्रियामा चलखेलको आशंका

खोरेत रोगले नेपालमा वार्षिक अर्बौं रुपैयाँको आर्थिक क्षति पुर्‍याउने अध्ययनहरूले देखाएका छन्। यसलाई नियन्त्रण गर्न सरकारले नियमित खोप अभियान चलाउँदै आएको छ। २०८१ भदौमा विभागले बनाएको प्राविधिक मापदण्डका आधारमा ९७ लाख ७८ हजार ९५० डोज खोप खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो। ठेक्का सुनगाभा भेट फर्माले पारेको थियो, जसले ब्रिलियन्ट बायो फर्माबाट खोप आयात गरेको थियो।

मापदण्डमा खोप बनाउन प्रयोग हुने ‘भाइरस आइसोलेट’ नै तोकेर भारतीय कम्पनीलाई मात्र अनुकूल हुने गरी बनाइएको आशंका उठेको छ। प्रतिलिपि अधिकारका कारण अन्य देशका कम्पनीले त्यस्तो आइसोलेट प्रयोग नगर्ने भएकाले प्रतिस्पर्धा सीमित भएको हो।

खोप आयातपछि गुणस्तर परीक्षणका लागि भेटेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालासँग पूर्ण प्रविधि नहुँदा तौल र रंग मात्र जाँचिएको थियो। आपूर्तिकर्ताले पेस गरेको तेस्रो पक्षको ल्याब रिपोर्ट पनि पुरानो ब्याचको भएको पाइएको छ।

विभागका महानिर्देशक डा. रामनन्द तिवारी र अन्य अधिकारीहरूले मापदण्ड प्राविधिक समितिको निर्णय भएको भन्दै चलखेल अस्वीकार गरेका छन्। समितिका संयोजक डा. कृष्णराज पाण्डे र सदस्य डा. नवराज श्रेष्ठले पनि जवाफ विभागसँग माग्न आग्रह गरेका छन्। तर खोप खरिद समितिका अर्का संयोजक डा. जितेन्द्र श्रेष्ठले नेपालमा भारतीय प्रजातिको खोरेत फैलिएकोले भारतीय आइसोलेट नै आवश्यक भएको तर्क गरेका छन्। यद्यपि, अन्तर्राष्ट्रिय अध्ययनले अन्य आइसोलेट पनि प्रभावकारी हुने देखाएको छ।

यो घटनाले पशुपालन क्षेत्रमा मात्र नभई खोप खरिद र गुणस्तर नियमन प्रक्रियामा सुधारको आवश्यकता औंल्याएको छ। प्रभावित किसानहरूले क्षतिपूर्ति र थप अनुसन्धानको माग गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *