बुद्धशान्ती। बुद्धशान्ति गाउँपालिकाका स्थानीयवासी पूर्ण प्रसाद भट्टराईकी श्रीमती क्यान्सर जस्तो गम्भीर रोगसँग संघर्ष गरिरहनु भएको अवस्थामा उपचारमा सहयोग पुर्याउने उद्देश्यले संकलन गरिएको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
गाउँकै युवाहरूको पहलमा अस्ट्रेलिया, अमेरिका लगायत विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू तथा स्थानीय समाजसेवी युवा साथीहरूको सहयोगबाट संकलित रु १,९०,३२१ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।यस अभियानमा विशेषगरी अस्ट्रेलियाबाट गौरव नेपाल, मदन धौराली लगायतले सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै रु १,०७,०१६ संकलन गर्न सहयोग गरेका थिए।
साथै देश तथा विदेशमा रहेका अन्य सहयोगी मनहरूबाट पनि आर्थिक सहयोग प्राप्त भएको युवाहरूले बताएका छन्।यस मानवीय कार्यमा साथ दिने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा सहयोगी मनहरूलाई गाउँका युवाहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। कठिन परिस्थितिमा देखाइएको साथ, सहयोग र सद्भावले पीडित परिवारलाई ठूलो हौसला दिएको उनीहरूको भनाइ छ।
पिडितलाई सहयाेग अवश्यक रहेको समाचारको सम्प्रेषण सुरुवातमा बुद्धशान्ती साप्ताहिक ले गरेको थियो।




















