काठमाडौँ – साउन १५ आज देशभर खीर खाएर मनाइँदैछ। वर्षा ऋतुसँग गाँसिएको यो परम्परा नेपाली समाजमा प्राचीन कालदेखि चलिआएको हो। असार १५ मा दही–च्यूरा र साउन १५ मा खीर खाएर मनाउने संस्कार वर्षैपिच्छे दोहोरिन्छ।
धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार संस्कृतमा ‘पायस’ भनिने खीर सात्विक आहारमा उत्कृष्ट मानिन्छ। पितृ र देवकार्यमा समेत यसको विशिष्ट भूमिका हुने वैदिकशास्त्रमा वर्णन छ।
“साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ, घाँस प्रशस्त पाइन्छ र गाई–भैँसीबाट दूध बढी उत्पादन हुन्छ,” गौतम भन्छन्, “त्यही दूधबाट खीर बनाई इष्टमित्र र चेलीबेटीलाई बोलाएर खुवाउने परम्परा बसालिएको हो। खीर स्वास्थ्यका हिसाबले पनि लाभदायी छ।”
साउन भगवान् शिवको महिना भएकाले दूध र त्यसबाट बनेका परिकार अर्पण गर्ने धार्मिक मान्यता समेत रहेको उनले बताए। खीर पनि शिवलाई अर्पण गर्ने प्रमुख परिकारमध्ये पर्दछ। यद्यपि, खीर साउन १५ का दिन अनिवार्य खाने भन्ने कुनै शास्त्रीय वचन भने नरहेको गौतम स्पष्ट पार्छन्।
ऋषिमुनिका पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निम्त्याइएका पाहुनालाई खीर खुवाउने परम्परा रहेको देखिन्छ। आज पनि वैदिक सनातन धर्मअनुसार गाईको दूधमा बनेको खीर श्राद्धका अवसरमा अनिवार्य परिकारको रूपमा प्रयोग गरिन्छ।
खीर परिकार बनाउँदा चामल, सेवई, मकै, गाजर, सावधाना आदि प्रयोग गरिन्छ। साउन महिनामा हरियो मकैको उपलब्धता बढ्ने भएकाले मकैको खीर बनाउने प्रचलन पनि फैलिएको छ। सावधाना (साबुदाना) लाई फलफूल वर्गमा राखिन्छ र व्रत–उपवासमा समेत खाइन्छ।
नेपाली समाजमा हरेक महिनाको १५ गते कुनै न कुनै परिकार बनाएर सामूहिक रूपमा खाने परम्परा छ। असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घ्यू खट्टे, माघ १५ मा मालपुवा खुवाउने परम्परा रहिआएको छ।
यसै सन्दर्भमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’का रूपमा मनाउँदै आएको छ।