खुट्टाले लेखेर एसईई कटाएका उमेशको बाली विज्ञान पढ्ने धोको

‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।’

मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका खत्रीले २.९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन् । एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ ।

EPIC EPIC EPIC

उनले भने, ‘मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु ।’ पढाइ सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने इच्छा उनको छ । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मिएका हुन् ।

पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उनको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताइन् ।

खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउँछिन् । खुट्टा चल्न सुरु गरेपछि उनलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्दैनन् । खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गरेकी थिइन् ।

‘सुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ,’ उनले भनिन्, ‘छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले एसइईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ ।’

छोराले एसइई पास गरेपछि चौतर्फी बधाईको ओइरो आफूलाई आउँदा गर्व लागेको गोमाको भनाइ छ । खुट्टाको नशामा सुधार आएपछि छोराले अरू काम गर्न नसके पनि किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउन सक्ने भएको गोमाले बताइन् ।

उमेशलाई परीक्षामा सहज वातावरण निर्माण गर्न विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग पुर्याएको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बताए । उनका अनुसार परीक्षाको बेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेको थियो ।

प्रधानाध्यापक आचार्यले उमेश मेहनती मात्र नभई अनुशासित विद्यार्थी भएको बताए । ‘उनको शारीरिक अपागङ्तालाई देखेर स्कुलले धेरै सहयोग र व्यवस्थापन गरेको छ,’ उनले भने, ‘हुन त पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन् । यो सफलता उमेशको लगनशीलताको नतिजा हो ।’

घरबाट १५ मिनेटको दूरीमा रहेको विद्यालयमा उमेशलाई कहिले मामाको छोरा र कहिले आमाले विद्यालयसम्म पुर्याउनुपर्थो । उमेश आफ्नो सफलताको श्रेय आमा बुबा र गुरुहरुलाई दिन्छन् । पाँच वर्षको उमेरबाट उमेशले आफूले सक्ने काम खुट्टाकै सहारामा गर्न थाले । हात र खुट्टा दुवै नचल्दाभन्दा खुट्टाले काम गरेपछि धेरै सजिलो भएको उमेशको भनाइ छ ।

सशस्त्र प्रहरीमा जागिरे बुबा अहिले नवलपरासीमा कार्यरत छन् । दुई छोरामध्ये उमेश जेठो हुन् । यस वर्षको एसइईमा धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकेको बेला आफ्नै वडाबाट उमेशले राम्रो अङ्क ल्याएर पास गरेकामा वडावासी खुसी भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।उमेशलाई उच्च शिक्षाका लागि सहयोग गर्ने वडाध्यक्ष वलीले प्रतिबद्धता व्यक्त गरे । उक्त विद्यालयबाट १०७ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए जसमध्ये १२ जनामात्र उत्तीर्ण भएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च