काठमाडौँ । काठमाडौँको रत्नराज्य क्याम्पसमा चिट चोर्न नदिएको भन्दै बिद्यार्थीले प्राध्यापकलाई कुटपिट गरेका छन्। क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले एक शिक्षकलाई कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएका शिक्षकको नजिकै रहेको काठमाडौँ मोडल अस्पतालमा उपचार भएको छ । जेठारले शिक्षकलाई पानि पिउने जगले टाउकामा प्रहार गरेका थिए। घाइते शिक्षकको टाउकाम ७ टाँका लगाइएको छ ।
जेठार यसअघि क्याम्पसमा सरस्वति पुजामा भएको झडपमा समेत संलग्न थिए। सो घटनामा दिपक बस्नेत नाम गरेका छात्रको एउटा दाँत झरेको थियो भने,दिलिप खड्काको ५ वटा दाँत भाचिएका थिए।हुलमा घटना भएकाले उक्त समय कारवाही भने भएको थिएन।
शिक्षकमाथी अमर्यादित व्यवहार भएको भन्दै मंगलबारदेखी क्याम्पसको पठन-पाठन ठप्प छ।
बुधबारको आन्तरिक परिक्षा भने संचालन भएको सहायक क्याम्पस प्रमुख डोलराज काफ्लेले जानकारी दिए। काफ्लेले बिहिवार बिहान सर्वपक्षीय भेला बसी कारवाहीको बिषयमा छलफल गर्ने बताएका छन्।
“भोलि बिहान सबै पक्षलाई बोलाएर छलफल गर्छौ,कारवाही हो या के हो, भोलि नै टुंगो लाग्छ”, उनले भने।
रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै पठनपाठन बन्द गराएका छन्। शैक्षिक संस्थामा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म र आक्रमणकारी विद्यार्थीलाई कारबाही नभएसम्म अध्यापन नगर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
घटनामा संलग्न बिद्यार्थी फरार छन् भने बिद्यार्थी संगठनहरु घटना सामसुम पार्न तम्सिएको बिद्यार्थीहरुले आरोप लगाएका छन्।
सोहि कलेजमा अध्ययनरत एक बिद्यार्थीले नाम नबताउने सर्तमा भने,” बिद्यार्थी संगठनहरु पुरै लागिपरेका छन्,सामान्य माफी मगाएर घटना लुक्छ, यो आरआर क्याम्पसको प्रचलन नै बनिसक्यो”।
उता अनेरास्ववियु आर आर क्याम्पस कमिटिका अध्यक्ष श्रीकृष्ण उप्रेतीले भने क्याम्पस हाता भित्र हुने अमर्यादित घटनामा संलग्न जो कसैलाई पनि कारवाही गरिनुपर्ने बताए। “शिक्षकमाथी भएको दुर्व्यवहार निन्दनीय छ,बिधार्थीहरुबाट यस्तो घटना एकदमै दुखद हो” , उनले भने।
तस्बिर: श्रीराम पौडेलको फेसबुकबाट