अछाम — अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ का ५८ वर्षीय टेकबहादुर साउद र उनकी ५५ वर्षीया श्रीमती देउमा साउद भारत जान भन्दै बुधबार बिहान घरबाट निस्किए। उनका दुई छोरा भारतमै छन्। कान्छा छोरा विष्णु छत्तीसगढमा व्यवसाय गर्छन्। साउद दम्पती छोरासँग भेटघाट गर्ने र व्यवसायमा सघाउने उद्देश्यले भारततर्फ लागेका थिए।
बिहीबार उनीहरू कैलालीको धनगढी पुगे। त्यहाँबाट अरू गाउँलेसँगै जिप बुक गरेर भारतको लखनउतर्फ यात्रा थाले। तर, भारतको पलिया–लखनउ सडकखण्डमा यात्रा बीचमै रोकियो— एक दर्दनाक दुर्घटनाले।
जिपमा अरू पनि थिए। त्यही गाडीमा बान्नीगढी जयगढ–३ का अमिन साउद, उनकी श्रीमती र सात वर्षीय छोरा अंशु साउद पनि थिए। दुःखद घटनामा साउद दम्पती र नाति अंशुको घटनास्थलमै ज्यान गयो। अमिन साउद र उनकी श्रीमती घाइते भएका छन्।
‘छोराहरू भारतमै मःमको ठेला चलाउँछन्। आमाबुवा त्यहीँ गइरहन्थे,’ बान्नीगढी जयगढ–५ का अध्यक्ष टेकबहादुर साउदले भने, ‘जिपमा आठ–नौ जना सवार थिए भन्ने सुनेको छु।’
घरमा ६० वर्षीया अदोमती साउदले बुधबार बिहान छोरा, बुहारी र नातिलाई टीकोटालो गरेर बिदा गरेकी थिइन्। छोरा र बुहारी घाइते छन्। नाति अंशुको भने घर फिर्ती अब कहिल्यै सम्भव छैन।
गाउँपालिका अध्यक्ष नवराज साउदका अनुसार दुर्घटनापछि धनगढीमा रहेका नजिकका आफन्त र समाजसेवीहरू घटनास्थलतिर गएका छन्। घाइतेको उपचार भइरहेको छ।
‘हजुरआमाले बिहानै टीकोटालो गरेर बिदा गरिन्। आज यस्तो पीडादायी खबर आयो,’ अध्यक्ष साउदले भने, ‘अदोमती आमालाई म आजै मंगलसेन पठाएको थिएँ। खबर सुनाउन सकिएको छैन।’