झापा । छोराले चलाएको मोटरसाइकलबाट झर्दा झापा अर्जुनधारा नारायण चोककी एक बृद्धाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडक खण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा परी एक बृद्धाको मृत्यु भएको हो ।
आइतबार अपराह्न करिब पौने ५ बजे आफ्नै छोराले चलाएको मोटरसाइकलको पछाडि सिटमा बसेकी अर्जुनधारा ७ नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय छोरा सुमन कार्कीले चलाएको मोटरसाइकलको पछाडि उनी बसेकी थिइन् ।
बुद्धशान्ति – २ स्थित रबर बगान नजिक दुर्घटना भएको बताइएको छ । दुर्घटनाबाट उनका टाउकोमा चोट लागेको र तत्काल अर्जुनधाराकै शंकर हस्पिटल लगिए पनि उपचार सम्भव नभएपछि बिर्तामोड लगिएको प्रहरीले जनाएको छ ।
उपचारका लागि बिएन्डसी अस्पताल पुराइएपनि उपचार अगावै कार्कीको ज्यान गएको बताइएको छ । घटनापछि छोरा पनि बेहोस भएका कारण बिएन्डसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।