दिपायल- शिखर नगरपालिकाका कार्यपालिका सदस्य रतन विक विद्यालयमा पढाउन थालेका छन् । उनी एक साता देखि नगरपालिका कार्यालय नजिकै रहेको हरिहर माध्यमिक विद्यालयमा पढाउन थालेका हुन् ।
राहत कोटाबाट अंग्रेजी शिक्षकका रुपमा कार्यरत बैतडीका नरेश भट्टले स्थायी दरबन्दीमा नाम निकाले पछि तत्काल विकले सो कक्षा सम्हालेका हुन् । अहिले कार्यपालिका सदस्य विक ११ र १२ कक्षामा अंग्रेजी विषय पढाउन थालेका छन् ।
कार्यपालिका सदस्यले निःशुल्क पढाउन थाले पछि अंग्रजी कक्षा निरन्तरत सञ्चालन हुनुका साथै विद्यालयलाई आर्थिक भार पनि कम भएको प्रधानाध्यापक गणेश बहादुर मल्लले बताए । राहतमा कार्यरत शिक्षकले स्थायी दरबन्दीमा नाम निकाले पछि उहाँको विदाइ गर्नु प¥यो,“उनले भने तत्काल शिक्षक खोज्न पनि सकिने अवस्था रहेन । कार्यालयपालिका सदस्य ज्यूले निःशुल्क सेवा दिन्छु भनेपछि ढुंगा खोज्दा देउता मिले जस्तै भयो । अहिले विद्यार्थीहरुले पढाइलाई निरन्तरता दिन पाएका छन् भने विद्यालयलाइ आर्थिक भार पनि कम भएको छ ।”
शिक्षकको अभावका कारण विद्यार्थीहरुको पढाई रोकिनु भन्दा आफुसँग भएको सिपको प्रयोग गरौं यो पनि सेवा नै हो भनेर निःशुल्क सेवा दिने निधो गरेको कार्यापालिका सदस्य विकले बताए । विद्यार्थीहरुको वार्षिक परिक्षा पनि नजिकिदै गएको छ,“उनले भने,“यस बीचमा पाठ्यक्रम पूर्ण हुन पाएन भने विद्यार्थीको वर्षभरिको मेहनत खेर जान्छ । तसर्थ, पाठ्यक्रमलाई पूर्णता दिन मैले निःशुल्क शिक्षण गर्ने निधो गरेको हुँ । विद्यालयमा अर्को शिक्षकको व्यवस्था नहुन्जेलसम्म सेवा दिने गरेर पढाउन थालेको छु ।”
कार्यपालिका सदस्य विक नेपाली कांग्रेसको नगर कार्यसमितिका सचिव समेत हुन् ।