काठमाडौं। भ्रष्टाचार छानबिनको माग राख्दै जारी जेन–जी आन्दोलनका कारण नेपालमा खाना पकाउने एलपी ग्यास आयातमा गम्भीर असहजता उत्पन्न भएको छ । आन्दोलनका क्रममा सुरक्षाको चुनौती बढेपछि भारतबाट ग्यास ल्याउने बुलेट नेपाल आउन नमान्दा बजारमा ग्यास आपूर्ति संकट बढेको छ ।
ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार तीन–चार दिनदेखि बुलेट आयात ठप्प छ । बुधबार साँझ वीरगन्ज भन्सारबाट निस्कँदै गरेका एक बुलेट चालकलाई स्थानीय युवाले कुटपिट गरी घाइते बनाएपछि स्थिति झन् जटिल बनेको उनले बताए ।
हाल नेपालमा करिब सात सय भारतीय बुलेट प्रयोग हुने गरे पनि सुरक्षा चुनौती देखाउँदै व्यवसायीले पठाउन अस्वीकार गरेका छन् । बरौनी रिफाइनरी मर्मतका कारण बन्द भएपछि लामो दूरीमा पर्ने पाराद्वीप रिफाइनरीबाट मात्र आयात भइरहेको छ, जसले आपूर्ति ढिलाइ गरिरहेको अध्यक्ष घिमिरेले बताए ।
उनका अनुसार उद्योगमा मौज्दात ग्यास भए पनि सेनाले ढुवानी साधन चल्न नदिएकाले खुद्रा विक्रेतासम्म पुर्याउन सकिएको छैन । आपूर्ति मन्त्रालय, आयल निगम र सेनासँग सहजीकरणका लागि पत्राचार गरिए पनि सुनुवाइ नभएको उनले बताए ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने बिस्तारै समस्या समाधान हुँदै गएको दाबी गरे । उनका अनुसार बिहीबार साँझसम्म ४१ वटा बुलेट वीरगन्ज भन्सार हुँदै पास भइसकेका छन् । नेपालगन्ज हुँदै तीन र रुपैडिया नाकामा १७ बुलेट आइसकेको छ ।
तर, ठाकुरले भारतीय चालक–सहचालक नेपाल आउन डराएको स्वीकार गरे । खुद्रा विक्रेतासँग मौज्दात सकिँदा उपभोक्ता अत्तालिएको र अनावश्यक मौज्दात गर्ने प्रवृत्तिले पनि संकट गहिरो बनाएको उनले बताए । निगमका अनुसार दैनिक एक लाख ग्यास सिलिन्डर उपभोग हुने गर्छ ।
यसैबीच, सुरक्षाका कारण पेट्रोलपम्पसमेत देशभर बन्द भएका छन् । पेट्रोलियम डिलर्स राष्ट्रिय संघका अध्यक्ष लिलेन्द्र प्रधानले प्रशासनबाट पम्प खोल्न वा बन्द गर्न निर्देशन नआए पनि सम्भावित जोखिमका कारण सञ्चालन रोकिएको बताए । निगमले पनि यस्तै कारण पम्प खोल्न दबाब नदिएको जनाएको छ ।



















