झापा ।
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलाललाई सार्वजनिक कार्यक्रममै धम्की दिएको आरोपमा राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशी पक्राउ परेका छन्। उनलाई प्रहरीले बुधबार मध्यरातमा नियन्त्रणमा लिएको हो।
गत पुस २९ गते बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित ‘राष्ट्रिय भाक्का दिवस–८२’ को कार्यक्रममा मन्तव्य राख्ने क्रममा अध्यक्ष राजवंशीले प्रमुख जिल्ला अधिकारी गेलालविरुद्ध आपत्तीजनक अभिव्यक्ति दिँदै धम्की दिएका थिए। सोही अभिव्यक्तिको विषयलाई लिएर उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
के थियो विवादको कारण?
जिल्ला प्रशासन कार्यालय झापाले यस वर्षको भाक्का दिवस आयोजक समितिलाई ‘वैधानिक नरहेको’ ठहर गरेको थियो। आयोजक संस्थाको वैधानिकतामा प्रश्न उठाउँदै प्रशासनले कार्यक्रमका लागि शान्ति सुरक्षा (प्रहरी) नपठाउने निर्णय गरेको थियो।
मंगलबार कार्यक्रम चलिरहेकै समयमा प्रशासनबाट कार्यक्रम रोक्ने आदेश आएपछि माहोल तनावपूर्ण बनेको थियो। प्रशासनको अवरोधबाट आक्रोशित बनेका अध्यक्ष राजवंशीले मञ्चबाटै प्रमुख जिल्ला अधिकारी गेलाललाई लक्षित गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए।
सार्वजनिक पदमा रहेका व्यक्तिलाई धम्की दिएको र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि गरेको भन्दै उनलाई पक्राउ गरिएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















