झापा, १ माघ ।
झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–माईधार सडक खण्डमा आज बिहान सवारी दुर्घटना हुँदा एकै परिवारका आमा र छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ बस्ने ४० वर्षीया सुष्मा राजवंशी र उनका डेढ वर्षीय छोरा आरुति राजवंशी रहेका छन् । गम्भीर घाइते बालक आरुतिलाई उपचारका लागि बी एण्ड सी अस्पताल पुर्याउनासाथ बिहान १०:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै, गम्भीर घाइते आमा सुष्माको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा बिहान ११:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
कसरी भयो दुर्घटना ?
आज बिहान ९:३० बजे पूर्व–पश्चिम लोकमार्गअन्तर्गत नयाँ बस्तीमा बिर्तामोडबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।
श्रीमानको अवस्था पनि गम्भीर
दुर्घटनामा मृतक सुष्माका श्रीमान् ४० वर्षीय आफुद राजवंशी पनि गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लाग्नुका साथै दाहिने हात र खुट्टा भाँचिएका उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । सोही दुर्घटनामा भद्रपुर–४ की ४५ वर्षीया पाथल राजवंशीको पनि अवस्था गम्भीर रहेको छ ।
अन्य घाइतेहरूको विवरण
दुर्घटनामा परी घाइते भएका अन्य यात्रुहरूको बिर्तामोडका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बिर्तासिटी अस्पतालमा उपचाररत:
- पुष्पलाल राजवंशी (४० वर्ष), भद्रपुर–४ (अवस्था मध्यम)
- आशिष राजवंशी (१५ वर्ष), भद्रपुर–४ (मृतकका छोरा, अवस्था सामान्य)
- टेमुना राजवंशी (४० वर्ष), भद्रपुर–९ (अवस्था मध्यम)
- अन्जलि राई (२९ वर्ष), शिवसताक्षी–१० (अवस्था मध्यम)
- अभिषेक राजवंशी (२४ वर्ष), बिर्तामोड–३ (अवस्था सामान्य)
- कृतिका राजवंशी (१५ वर्ष), मेचीनगर–१५ (अवस्था सामान्य)
बी एण्ड सी अस्पतालमा उपचाररत: - फुलमुन्नि मुर्मु (६५ वर्ष), मेचीनगर–१५ (अवस्था सामान्य)
- जमुना राजवंशी (४२ वर्ष), मेचीनगर–१५ (अवस्था सामान्य)
- अनिष राजवंशी (११ वर्ष), मेचीनगर–१५ (अवस्था सामान्य)
चालक नियन्त्रणमा
प्रहरीले पिकअप चालक बिर्तामोड–६ का ३९ वर्षीय जाकिर हुसेनलाई नियन्त्रणमा लिएको छ । बस चालक भने तत्काल फरार रहेकोले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















