झापा- झापा गाउँपालिकामा मादक पदार्थ सेवन गरी आएका एक व्यक्तिलाई रातभरि रुखमा बाँधेर राखेपछि उनको मृत्यु भएको छ।
घटनामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मृत्यु हुनेमा झापा गाउँपालिका-१, लसुनाका ६० वर्षीय जतन सोरेन रहेका छन्। गए राति करिब १०:३० बजे मादक पदार्थ सेवन गरी उनी छिमेकी महादेव टुडूको घरमा पुगेका थिए। त्यहाँ पुगेर उनी काम्न थालेपछि महादेव टुडू र अन्य स्थानीय व्यक्तिले उनलाई घर नजिकैको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए।
आज बिहान ४ बजेतिर हेर्दा सोरेन मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडू रहेका छन्। उनीहरू सबै झापा गाउँपालिका-१, लसुनाका बासिन्दा हुन्।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन्।
थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली पनि घटनास्थलमा खटिएको छ।



















