झापा — राजसंस्थाको पुनःस्थापनाको माग गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको तयारी भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा आइपुगेका छन्।
शाह झापाको दमक–९ मा रहेको हिमालयन महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबारमा दुई सातासम्म बस्ने कार्यक्रमसहित आइपुगेका हुन्। उनी अपराह्न ४ बजे बुद्ध एयरको नियमित उडानमार्फत झापा आएका हुन्।

पूर्वराजाको आगमनअघि नै उनको सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली दुई दिनअघि काठमाडौंबाट झापा आइपुगेको एक स्रोतले जानकारी दिएको छ।
टी इस्टेटस्थित उक्त मिनी दरबारमा पछिल्ला केही दिनदेखि पूर्वराजा शाहका परिवारका सदस्यहरूको समेत आवतजावत बढेको बताइएको छ।
राजसंस्थाका पक्षधरहरूले पूर्वराजाको उपस्थितिलाई आन्दोलनको उर्जा र सन्देशका रूपमा लिएका छन् भने सुरक्षाप्रहरीहरूले उक्त क्षेत्रलाई उच्च सतर्कतामा राखेको बताइएको छ।
