विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले कार्यालयकाे ताला फुटाएर कार्यभार सम्हालेका छन् ।
उच्च अदालत विराटनगरको फैसलाबाट पुनर्बहाली भएका उनले बन्द रहेको कार्यालयको ताला फोरेर पदभार ग्रहण गरेका हुन् ।
बिहीबार कार्यालयमा ताला लगाएर कर्मचारीहरु ओलम्पियन्स पुनर्मिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन सुनसरीको इटहरी गएका थिए ।
इटहरीमा ओलम्पियन्सहरुलाई स्वागत गर्दै वाकाथन (पैदल यात्रा)को उद्घाटन गरिएको थियो । ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले गरेका थिए । कार्यक्रमको समापन वैशाख २२ गते इलाममा हुनेछ ।
सूचना नै जारी गरेर बोर्डको कार्यालयमा ताला लगाउँदै उक्त कार्यक्रममा सहभागी हुन कर्मचारीहरु गएका थिए । बोर्डको कार्यालयबाट प्रवाह गरिने सेवा बिहीबार बन्द रहने जानकारीसहितको सूचना सदस्यसचिव हंशराज वाग्लेले जारी गरेका थिए ।
कार्यालय नै बन्द रहेको पाइएपछि कार्यभार सम्हाल्न पुगेका बस्नेत अलमलमा परेका थिए । त्यसपछि स्थानीय प्रशासन र महानगरपालिकाको वडा कार्यालयका जनप्रतिनिधिको रोहबरमा ताला फुटाइएको थियाे ।