झापा, चैत्र १७ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ। मानव अधिकारकर्मी टीकाराम भुसालले प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका हुन्।
भुसालले प्रसाईंले युएसएडबाट वित्तीय सहयोग लिएर नेपालमा समलिङ्गी विवाह लागू गरिएको भन्ने भ्रामक अभिव्यक्ति दिएको आरोप लगाएका छन्। उजुरीमा प्रसाईंको अभिव्यक्तिले नेपालको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमाथि घृणा फैलाउने, सामाजिक सद्भाव भड्काउने तथा असत्य सूचना प्रवाह गर्ने उल्लेख छ।
‘यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पूर्णरुपमा कानुनविपरीत र सम्मानित सर्वोच्च अदालतले २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्यक्तीहरुको विवाह दर्ता गरिदिनु भनी सरकारलाई दिएको आदेशको अपमान–अवहेलना समेत हो,’ उजुरीमा भनिएको छ।
साइबर ब्यूरोले उजुरी दर्ता भइसकेको पुष्टि गर्दै आवश्यक अनुसन्धान अघि बढाइने जनाएको छ।
प्रसाईंले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, उनी विगतमा पनि विवादास्पद अभिव्यक्तिका कारण चर्चामा रहँदै आएका छन्।



















