काठमाडौं, भदौ २६ – आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। मधेशसहित यी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने विभागको अनुमान छ।
आज राति पनि देशभर बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यम वर्षा र तराई तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
मौसम विज्ञका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सामान्य अवस्थामा र पश्चिमतर्फ भने सरदरभन्दा केही उत्तरतिर रहेको छ। वर्षा बढ्ने सम्भावना भएकाले नदी–नाला आसपास र भिरालो भूभागमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।