देश जलेको छैन साथी

दुर्गामणी मिश्र

यहाँ देश जलेको कुरा
सबैले गरे,
तर आगो किन बल्यो?
कसैले सोधेन।
धुवाँको दोष
शहिदहरुलाई थोपरे,
चिसो कुर्सीमा
बसेकाहरू मौन रहे।

EPIC EPIC EPIC

यहाँ देश जलेको होइन,
यहाँ सत्यलाई बिस्तारै
सास फेर्न नदिई
घाँटी थिचिएको हो।
आगो सडकमा थिएन,
आगो त
नीति, नियत र मौनतामा थियो
जहाँ प्रश्न गर्नु
अपराध बनाइयो।

विद्यालयको पोषाकमा
भोलिको सपना बोकेका
७६ निहत्था भविष्यहरुको
छातिमा राज्यले गोली लेख्यो
कालो अक्षरमा, रगतको मसीले।

ती निहत्था नवयुवकहरुको
छातिमा गोली हान्दा
गोलीले होइन,
भविष्य चिच्याएको थियो
७६ पटक
समय रोकिएको थियो
७६ पटक
आमाको कोख रित्तिएको थियो।

त्यो दिन
रगत जमिनमा झर्‍यो,
तर अपराध
आकाशमा हरायो।
न अदालत बोलो
न सरकार लजायो,
न इतिहासले तुरुन्तै
नाम लेख्न आँट गर्‍यो।

आज
तिनै मौनताका मालिकहरु
फूलले सजिएका छन्,
अबिरले रङ्गिएका छन्
रगतको स्मृतिमाथि
होली खेल्दै
भोट माग्दैछन्
मानौँ
लासहरू केवल
अङ्कगणित हुन्।

यहाँ
एक नेपाली
अर्कोलाई लुसिफर भन्छ,
तर
लुसिफर त
हामीलाई
आपसमा भिडाएर
आफू निर्दोष देखिन खोज्ने
सत्ताको अनुहार हो।

देश जलेको छैन साथी,
देशलाई
आफ्नै छायाँसँग
लडाइँमा धकेलिएको छ
र सबैभन्दा ठूलो पाप
यही हो कि
हामीलाई
बिर्सन सिकाइँदैछ।
जबकि
नर्कको आगो त
सत्ताको आँखामै बलिरहेको छ।
यो देश
जलेको मात्र होइन,
बिस्तारै
आफ्नै आत्माबाट
खसिरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *