Search
Close this search box.
Search
Close this search box.

नारायण गोपालको सुमधुर सुरमा झुम्यो जयपुर

बुद्धशान्ति । स्वर सम्राट नारायण गोपालका गीतहरूले बुद्धशान्ति संगीतमय बनेको छ ।

जयपुर स्थित जयपुर इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा आइतबार ३१औँ स्वर सम्राट नारायण गोपाल स्मृति दिवसको अवसरमा साँगीतिक कार्यक्रम सम्पन्न भएको छ ।

EPIC EPIC EPIC

कार्यक्रममा कलाकारहरुले नारायण गोपालको स्वरमा स्वरबद्ध दर्जनौ गीत गाएका थिए । काठमाडौबाट बाद्यबादक सहित आएका साँगीतिक टोली र स्थानीय कलाकारहरुले गायन प्रस्तुत गरेका थिए ।

गायक समीर खरेलले नेपाली चलचित्र बदलिँदो आकाशको ‘जन्मिनु छ’ बोलको गीतबाट गायन शुरु गरेका थिए । उनले ‘जीवन देखि धेरै नै थाकेर’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाउँ’ बोलका गीतसँगै चारवटा गीत गाए ।

गायक निशानले ‘बिर्सेर फेरी मलाई नहेर’, प्रशान्त पोखरेलले ‘लौ सुन म भन्छु मेरो राम कहानी’, ‘मेरो आँखालाई राखने फूलबारी छैन’ बोलको गीत लगायत चारवटा गीत गाए ।

गायक हेम जङ्गले ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘केही मीठो बात गर’ र ‘प्रेयसीका यादहरु’, संजय मैनालीले ‘मैले पूण्य मन पराएँ या पाप मन पराएँ’, ‘तिमी जुन रहरले म मा आयौ’ बोलको गीत गाए ।

सुरुची पन्थी र संजय मैनालीले ‘तिम्रो मनमा लुकेको कुरा’ बोलको युगल गीत गाएका थिए । गायक सरोज वत्स र गायीका संजिवनी पौड्यालले ‘हिमाल सरी म अग्लि रहेछु’, ‘लुकुँ लुकँ लाग्यो मलाई’ र ‘मोहनी लाग्ला है’ बोलका गीत गाएका थिए । त्यस्तै गरी आयुशा सुयलले ‘कसरी म भुलेँ के मा म भुलेँ’ बोलको गीत गाएकी थिइन् ।

अतिथि, अभिभावक, शिक्षक शिक्षिका र विद्यार्थीहरु माझ कलाकारहरुले अत्यन्त सुमधुर स्वरमा गायन प्रस्तुत गरेका थिए । त्यस्तै बाद्यबादन पनि निकै सुमधुर रहेको थियो । कार्यक्रमकाबीच कार्यक्रम सफलताका लागि गीतकार दिनेश अधिकारीले पठाएका भिडियो शुभकामना प्रस्तुत गरिएको थियो ।

विद्यालयका उपप्राधानाध्यापक नेत्र दुलालको अध्यक्षता, वरिष्ठ गजलकार केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीत प्रेमीहरु सुनिता तामाङ, गणेश निरौला, हेमन्ता भण्डारी, डम्बरकुमार प्रधान, गोपाल ओली, जय भण्डारी, लक्ष्मी सुवेदी, गंगा निरौला, लक्ष्मी भण्डारी, अनिल वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका एकेडेमिक कोअर्डिनेटर तथा चर्चित गजलकार पुरुषोत्तम ढुङ्गेलले कार्यक्रममा उद्घोषण गर्दै स्वर सम्राट नारायण गोपालका सांगीतिक विशेषताहरु बताए । नारायण गोपाल सिङ्गो नेपाली संगीतको पाठशाला भएको बताउँदै नारायण गोपालले नेपाली सांगीतिक क्षेत्रको नक्सा नै बदलिदिएको र नेपाली सांगीतिक आकाशबाट नारायण गोपाल हटाइदिने हो भने नेपाली सांगीतिक क्षेत्र अधुरो रहने विचार व्यक्त गरे ।

नारायण गोपाल गीतको भाव, गाम्भिर्यता र अर्थप्रति निकै ध्यान दिन्थे भन्दै, ‘आजै र राती के देखेँ सपना’ बोलको गीतको शब्द पाउँदा गीतको अन्तरामा रहेको ‘मस्र्याङ्दी नदी नरमाइलो सुसाइरहेको’ शब्दहरुको अर्थ र भावनाको गहिराई महसुस गर्न नारायाण गोपाल स्वयम् मस्र्याङ्दी नदी बगेको हेर्न र सुसाई सुन्न मस्र्याङ्दी नदी पुगेको प्रसंग सुनाए । उनले नारायण गोपालले गाएका गीतका गीतकार तथा संगीतकारहरु समेतका विशेषताहरु बताए ।

नेपाली सांगीतिक क्षेत्र देशको सम्पदा र चिनारी भएकाले विद्यार्थीहरुले सांगीतिक इतिहास आदिबारे पनि जानकारी लिनु पर्ने, पढ्नु पर्ने बताए । त्यसैले पनि विद्यार्थीहरुमा स्वर सम्राट नारायण गोपाल लगायत नेपाली सांगीतिक क्षेत्रका योगदान कर्ताहरुबारे र सिङ्गो नेपाली सांगीतिक क्षेत्रबारे रुची जगाउने उद्देश्यले स्वर सम्राट नारायण गोपाल स्मृति सांगीतिक साँझ आयोजना गरिएको ढुङ्गेलले बताए । विद्यालयका प्राधानाध्यापक सन्तोष भण्डारीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *