मोरङ — कानेपोखरी गाउँपालिका–५ का ५२ वर्षीय जितलाल राजवंशीको शव पाँच दिनपछि जंगलमा फेला परेको छ। निगुरो टिप्न भनी घरबाट निस्किएका उनी जेठ २ गते बिहानदेखि बेपत्ता भएका थिए।
राजवंशीको खोजीमा परिवारजन र स्थानीयवासी निरन्तर खटिएका थिए। अन्ततः जेठ ६ गते बिहान करिब ११ बजे कानेपोखरी–७ स्थित राष्ट्रिय वन क्षेत्रभित्र उनको शव फेला परेको हो। शव घरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फको जंगलभित्र भेटिएको स्थानीयले जानकारी दिएका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कानेपोखरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। साथै इलाका प्रहरी कार्यालय पथरीबाट थप प्रहरी बल र फरेन्सिक टोलीसमेत घटनास्थल पठाइएको मोरङ प्रहरीले जनाएको छ।
हालसम्म राजवंशीको मृत्युको कारण खुलेको छैन। शवको प्रकृति, अवस्था र वरपर भेटिएका प्रमाणहरूको परीक्षणपछि मात्रै मृत्युको कारण पुष्टि हुने प्रहरीले जनाएको छ। विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ।