काठमाडौँ – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरिएको छ।
समितिमा लामो छलफलपछि निजामती सेवाका विभिन्न सर्तहरूमाथि सहमति बनेको हो। विधेयकअनुसार अब निजामती सेवाका कर्मचारीको सेवा अवकाशको उमेर ६० वर्ष हुने छ।
त्यस्तै, समितिले निजामती सेवाबाट राजनीतिक नियुक्तिमा गएकाहरूका लागि दुई वर्षे कुलिङ पिरियड (कार्यविराम अवधि) को व्यवस्था गर्ने निर्णय गरेको छ।
विधेयकमा प्रवेश उमेरसमेत परिमार्जन गरिएको छ। अब निजामती सेवामा प्रवेश गर्न पुरुषका लागि अधिकतम उमेर हद ३५ वर्ष र महिलाका लागि ३९ वर्ष कायम गरिएको छ।
समितिबाट विधेयक पारित भएसँगै अब यसलाई संघीय संसदको बैठकमा पेस गरिनेछ।



















