आसन्न २१ फागुनको निर्वाचनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दुई साता पछाडि सरेको छ । राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डरअनुसार एसइई चैतको पहिलो सातादेखि सञ्चालन गर्नुपर्ने भए पनि पूर्वतयारी र सुरक्षा अवस्थालाई समेत ध्यान दिएर पछाडि सारिएको हो ।
बुधबार बसेको बोर्ड बैठकले १९ चैतदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डका अधिकारीहरूका अनुसार चुनावका कारण केही दिन पढाइ प्रभावित हुने तथा अन्य पूर्वतयारी र सुरक्षालाई समेत मध्यनजर गर्दै एसइई सञ्चालनको मिति तय गरिएको हो ।
बोर्डले बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने गरी परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । एसइईको पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुनेछ ।
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले हालसम्म २५ वटा जिल्लाबाट परीक्षा केन्द्रको सूची प्राप्त भएको र अन्य जिल्लाबाट सूची आउन बाँकी रहेको बताए । उनका अनुसार बोर्डले २ माघसम्म परीक्षा केन्द्र टुंगो लगाउन ७७ वटै जिल्लामा परिपत्र गरेको थियो । तर, सीमित जिल्लामा मात्रै केन्द्र निर्धारण भएको छ भने अधिकांश जिल्लामा केन्द्र निर्धारण हुन बाँकी छ ।
बोर्डले एसइई परीक्षा केन्द्र निर्धारण तथा आवश्यक सुरक्षा योजना बनाउनका लागि सम्बन्धित जिल्लाका सिडिओको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति बनाएको छ । समितिले जिल्लामा बैठक बसेर परीक्षा केन्द्र निर्धारण गर्छ ।
तर, कतिपय विद्यालयमा परीक्षा केन्द्र पार्न सेटिङसमेत हुने भएकोले बोर्डले निगरानी गरेको अधिकारीले बताए । ‘हाम्रो कार्ययोजनामा त चैतको पहिलो सातादेखि नै सुरु गर्ने भन्ने थियो, तर चुनावका कारण केही दिनपछाडि सरेको छ, अहिले केन्द्र निर्धारण गर्ने कार्य भइरहेको छ,’ उनले भने ।
यसपटक सबै गरेर पाँच लाख १७ हजारहाराहारी विद्यार्थी सहभागी हुनेछन् । नियमिततर्फ चार लाख ५२ हजारहाराहारी विद्यार्थी सहभागी हुनेछन् भने ग्रेडवृद्धि तथा पुरानोतर्फ ६५ हजार पाँच सयहाराहारी विद्यार्थी एसइईमा सहभागी हुनेछन् । गत वर्ष चैतको पहिलो सातादेखि एसइई सुरु भएको थियो भने पाँच लाख १५ हजारहाराहारी विद्यार्थी सहभागी थिए ।



















