नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय किसान गोकर्ण नेपालीको बाँदरको आक्रमणबाट ज्यान गएको छ ।
बुधबार बिहान आफ्नै घरबारीमा मकै खान पसेका बाँदरलाई धपाउने क्रममा ठूलो संख्यामा आएका बाँदरको फौजले उनलाई आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । आक्रमणपछि अचेत भएका उनलाई छिमेकीहरूले उद्धार गरी तत्कालै उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एक सयभन्दा बढी संख्यामा रहेका बाँदर अचानक भीड बनाएर आक्रमण गर्दा नेपाली गम्भीर घाइते भएका थिए । घरबारी जोगाउन धपाउन खोज्दा उल्टै प्राण गुमाउनु परेको स्थानीयको भनाइ छ ।
बाँदरको बढ्दो आक्रमणले यस क्षेत्रका किसान त्रसित रहेका छन् । स्थानीयले कृषकको ज्यानै जाने अवस्थामा पुगेको समस्या समाधानका लागि तत्काल सरकारी पहल आवश्यक रहेको माग गरेका छन् ।