अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णय आउँदो जनवरी २१ अर्थात् माघ ७ गतेदेखि लागू हुनेछ ।
यो निर्णयले नेपालसहित दक्षिण एशियाका देशहरु, ब्राजिल, कोलम्बिया, उरुग्वे जस्ता ल्याटिन अमेरिकी देशहरू, बोस्निया र अल्बानियासहितका बाल्कन देशहरुकासाथै अफ्रिका, मध्यपूर्व र क्यारिबियन क्षेत्रका धेरै देशका आवेदकहरूलाई असर गर्नेछ ।
प्रभावित हुने देशहरूको सूचीमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, ब्राजिल, कोलम्बिया, नाइजेरिया, इरान, इराक, रुस, सुडान, सिरिया, यमनलगायत ७५ देश रहेका रोयटर्सले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका उप–प्रवक्ता टोमी पिगोटले सम्भावित आप्रवासीहरू अमेरिकामा सार्वजनिक बोझ बन्ने जोखिम नहोस् भन्ने सुनिश्चित गर्न भिसा प्रक्रिया पुनरावलोकन गरिने बताउनुभएको छ । उहाँका अनुसार सामाजिक सहायता र सरकारी सुविधामा निर्भर हुन सक्ने विदेशी नागरिकको प्रवेश रोक्नु यसको उद्देश्य हो ।
तर यो निर्णयले पर्यटक (भिजिटर) भिसालाई भने असर गर्ने छैन । सन् २०२६ को विश्वकप र २०२८ को ओलम्पिक अमेरिकामा आयोजना हुने भएकाले आगन्तुक भिसा प्रक्रिया निरन्तर रहने विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प फेरि सत्तामा फर्किएयता अध्यागमन कडा बनाइएको छ । अवैध अध्यागमन रोक्ने वाचा गरे पनि प्रशासनले कानुनी अध्यागमनसमेत कठिन बनाएको भन्दै आलोचना भइरहेको छ ।
क्याटो इन्स्टिच्युटका अध्यागमन अध्ययन निर्देशक डेभिड बियरका अनुसार यो कदमले आउँदो एक वर्षमा झन्डै ३ लाख १५ हजार कानुनी आप्रवासी अमेरिका प्रवेश गर्नबाट रोक्न सक्छ ।
विदेश मन्त्रालयले ट्रम्प कार्यकाल शुरू भएयता १ लाखभन्दा बढी भिसा रद्द भइसकेको पनि जनाएको छ ।


















