प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ। छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु गरिएको पर्यटन वर्षको छ महिना पूरा भइसकेको छ।
नेपालको होचो भूभागका रूपमा परिचित कचनकवल गाउँपालिका यस पर्यटन वर्षको सन्दर्भमा विशेष महत्व बोकेको छ। समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको यो भूभाग कोशी प्रदेशको दक्षिणी प्रवेशद्वार पनि हो। यस क्षेत्रका हरियाली खेत, केचना सिमसार क्षेत्र र गाउँस्तरका आतिथ्य संस्कृतिले हाल पर्यटन आकर्षणका रूपमा ध्यान तानिरहेको छ।
भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहनुभएको छ। इलामको कन्याममा भेटिएका उहाँ भन्छन्, “यसअघि पनि साथीहरूसँग नेपाल आएको थिएँ, तर परिवारसँग पहिलोपटक आएको छु।” उहाँका अनुसार अघिल्लो समयमा भन्दा यस वर्ष भ्रमण सहज र रमाइलो भएको छ। “सस्तो मूल्यमै स्तरीय होटलमा बस्न पाइयो,” उहाँले बताउनुभयो। शर्मा भन्छन्, “आफू जस्तै अरु पनि थुप्रै भारतीय नागरिक नेपाल घुम्न रुचाउँछन्।”
सुरुआती तीन महिना वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्षका कार्यक्रमहरू देखिए तापनि पछिल्ला तीन महिना पर्यटन प्रचारप्रसारका गतिविधि न्यून देखिएका छन्। ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने मूल नाराका साथ कोशी प्रदेश सरकारले ल्याएको उक्त कार्यक्रमलाई सरकारसँगसँगै निजी क्षेत्रको पनि उत्तिकै सहभागितामा सफल बनाउन प्रयास भइरहेको कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ बताउनुहुन्छ।
श्रेष्ठका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिकसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रका पर्यटक पनि यस प्रदेशमा आउने अपेक्षा गरिएको छ। “ग्रामीण पर्यटनलाई प्रोत्साहन दिँदै प्रदेशको प्रवेशद्वारका रूपमा रहेको कचनकवललाई पनि प्रमुख गन्तव्य बनाउन सकिन्छ,” उहाँले थप्नुभयो।
कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ कार्यक्रम ल्याएको हो। पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री ऊर्जा, जलविद्युत्, पर्यटन र जडीबुटीका क्षेत्रमा काम गर्ने बताउनुभएको छ।
प्रदेशमा पर्यटकस्तर होटल करिब पाँच सय र वानस्टारदेखि फाइभस्टार स्तरसम्मका डेढ सय होटल रहेको पर्यटन व्यवसायी तथा सहसंयोजक श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार यी होटलहरूमा दैनिक करिब तीन हजार पर्यटक बस्न सक्ने क्षमता छ।
गत महिना पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोले पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर गरेको भए पनि तराई क्षेत्र विशेषगरी कचनकवल क्षेत्रमा त्यसको प्रभाव न्यून रहेको श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार छठ पर्व पछाडि पर्यटन वर्ष २०८२ को थप प्रचारप्रसार गरिनेछ।
कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले रमणीय मानिन्छ। यहाँ विभिन्न प्रसिद्ध धार्मिक स्थलसहित विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) देखि नेपालकै होचो भूभाग कचनकवल (५८ मिटर) सम्म फैलिएको विविधता यस प्रदेशको विशेषता हो।
सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड लाग्ने गर्दछ। कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेका छन्।
कोशी प्रदेश सरकारले पर्यावरणीय गन्तव्यको सूचीमा १३ र ट्रेकिङ ट्रेलका रूपमा १० स्थान समावेश गरेको छ। सरकारी तथ्याङ्कअनुसार सगरमाथा अवलोकन गर्न ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक हरेक वर्ष प्रदेशमा आउने गरेका छन्।
धनकुटाको छिन्ताङ, ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी, सुनसरीको बराह क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन्। इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा, पाँचथरको साधुटारलगायत स्थानहरू पर्यटकीय आकर्षक गन्तव्य मानिन्छन्।
सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुलगायत हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ। सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मको ट्रेक साहसी र रोचक मानिन्छ। त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पनि पर्यावरणीय पर्यटनको आधार मानिन्छ।
कोशी प्रदेशको सम्पूर्ण पर्यटन संरचनामा अब कचनकवल जस्तो पर्यावरणीय दृष्टिले संवेदनशील र सहज पहुँच भएको क्षेत्रलाई प्रवर्द्धन गर्न सके, पर्यटन वर्ष २०८२ को लक्ष्य पूरा हुने प्रदेश पर्यटन कार्यालयका अधिकारीहरूको विश्वास छ।



















