रियाद । सिरियाका नवनियुक्त राष्ट्रपति अबु मोहम्मद अल जुलानी साउदी अरेबियाको ऐतिहासिक भ्रमणमा रहेका छन् । यहाँ उनले साउदीका युवराज मोहम्मद बिन सलमानलाई शुरूमा भेटेका थिए ।
साउदीले सिरियाली राष्ट्रपतिका लागि आफ्नो विशेष विमान उनका लागि पठाएको थियो । यो भ्रमणले सिरिया र साउदीबीच बढ्दो राजनीतिक सम्बन्धलाई औंल्याउँछ।
सिरियाको सरकारी टेलिभिजन सिरियन अरब न्यूज एजेन्सी (साना) को रिपोर्ट अनुसार यो बैठक यमामा प्यालेसमा भएको थियो। डिसेम्बर ८ मा बसर अल–असद शासनको पतनपछि जुलानीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।
तर गत साता जनवरी २९ सम्म उनी कार्यकारी सरकारको अध्यक्षमा निर्वाचित भएका थिएनन् । सो भेटघाटपछि साउदीले ६१ चिकित्सकको टोली दमास्कस पठाउने घोषणा गरेको छ ।
राष्ट्रपति बनेको दिन उनले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट गरेका थिए । सिरियामा विद्रोहीले कब्जा जमाएपछि राष्ट्र प्रमुखको यो पहिलो विदेश भ्रमण हो ।
राजकुमार सलमानसँगको भेटपछि अल जुलानीले साउदी अरबले युद्धग्रस्त सिरियालाई सहयोग गर्न चाहेको बताए । ‘हामीले लामो भेट गरेका थियौं, जसमा हामीले सिरियाको भविष्य निर्माण गर्न सहयोग गर्ने वास्तविक इच्छा महसुस गरेका र सुन्यौं,’ उनले टेलिग्राममा एक विज्ञप्तिमा भने।