ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा बलि चढाउने प्रचलन कम हुँदै गएको छ। भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन्।
पाथीभरामा केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो। बलि चढाउँदा देवी खुशी हुने र आफूले चिताएका इच्छा, आकांक्षा पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे।
पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा दर्शनको सिजन (बडादशैँ र रामनवमी)का समयमा दैनिक कम्तीमा ५०० देखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो। स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे।
अहिले यो चलन क्रमशः घट्दै गएको आचार्यको भनाइ छ। हिजोआज बिरलै मात्र पशु बलि दिने गरिएको छ। “अहिले बढीमा १५–२० बलि चढाइन्छन्, भक्तजनले नरिवल फुटाएर पूजा गर्ने र लाखबत्ती बाल्ने चलन बढेको छ,” उनले भने।
बलि चढाउँदा पशुपक्षीको रगतले रगताम्य हुने मन्दिर परिसर पछिल्लो समयमा सुन्दर र सफा देख्न सकिन्छ। रगतका कारण हुने फोहर र दुर्गन्धमा कमी हुनुका साथै मन्दिर वरपरको भाग सफा र सुन्दर भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।
पछिल्लो समय प्राणीको हत्या नगरी धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकासले पनि बलि प्रथा कम हुँदै गएको उनको भनाइ छ।
पाथीभरामा बडादशैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने परम्परा छ। पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास छ। तर दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन।
पाथीभरामा यसरी पूजा गर्नुपर्छ भन्ने लिखित पद्धति पनि छैन। मौखिक आधारमा नै चलेको छ। भगवतीको पूजा गरेर चण्डी पाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति रहेको काफ्लेले बताए।