मेचीनगर। पूर्वी नाका काँकरभिट्टा हुँदै पछिल्लो पाँच महिनामा ४८ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२५ को जनवरीदेखि मे महिनासम्मको अवधिमा भारतबाहेक ६३ मुलुकका नागरिक स्थलमार्ग भएर नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ।
कार्यालयका अनुसार सो अवधिमा सरदर दैनिक ३२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। भारतीय नागरिकलाई समावेश नगरेको यस तथ्यांकमा भुटानी नागरिकको संख्या सबैभन्दा बढी छ। कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नेपाल प्रवेश गर्नेमध्ये ८० प्रतिशत भुटानी र १० प्रतिशत अमेरिकी नागरिक रहेका छन्।
‘सन् २०२४ मा यस नाकाबाट ६ हजार एक सय एकजना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। त्यतिखेर दैनिक सरदर १७ जना आउँथे। यस वर्ष त्यो संख्या दोब्बरले वृद्धि भएको छ,’ भट्टराईले बुधबार काँकरभिट्टामा प्रेस क्लब मेचीनगरद्वारा आयोजित कार्यक्रममा बताए।
उनका अनुसार नेपालको पूर्वी नाका हुँदै नेपाल प्रवेश गर्ने र भारततर्फ फर्किने पर्यटकको संख्या करिब उस्तै छ। ‘२०२४ मा यस नाका हुँदै ६ हजार एक सय ९७ जना पर्यटक भारत गएका थिए,’ उनले जानकारी दिए।
थाइल्यान्ड, बेलायत, अस्ट्रेलियालगायतका मुलुकबाट समेत पर्यटकहरू काँकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गरिरहेको अध्यागमन कार्यालयले जनाएको छ।